तपाईँ सुन्दै हुनुहुन्छः

‘निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन मतदाताले उम्मेदवारका बारेमा जान्नुपर्छ’

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले निर्वाचनमा उम्मेदवारले पेस गर्ने मनोनयन पत्र र संलग्न कागजात मतदाताले थाहा पाउने गरी सार्वजनिक गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।

सूचना आयोगको गत भदौ १६ गते बसेको बैठकले निर्वाचन आयोगलाई सो सुझाव दिने निर्णय गरेको हो ।

राष्ट्रिय सूचना आयोगको कार्यालय काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा सूचना आयुक्त कमला ओली थापाले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन मतदाताले उम्मेदवारका बारेमा जान्नुपर्ने धारणा राख्नुभयो ।

सूचना आयुक्त थापाले सेप्टेम्बर २८ अर्थात् यही असोज १२ गते पर्न गएको  अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवसका अवसरमा काठमाडौँमा विचार गोष्ठीको आयोजना गरिएको भन्नुहुँदै विचार गोष्ठीमा सहभागी हुन सरोकारवालालाई आग्रह गर्नुभयो  ।

यस्तै, आयोगले सूचना नपाएको भनी एकामुल हक र राजीव दासले आयोगमा दर्ता गर्नुभएको उजुरी उपर कारबाही गर्दै राजपुर नगरपालिकाको कार्यालय रौतहटका बैंज ठाकुरलाई १० हजार रुपैयाँ र त्रिभुवन  विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई २० हजार रुपैयाँ जरिवाना गरिएको पनि सूचना आयुक्त थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button