तपाईँ सुन्दै हुनुहुन्छः

मलेसियाका लागि नवनियुक्त राजदूतको प्रतिबद्धता : नेपाली श्रमिकका समस्या समाधान गर्छु

काठमाडौँ । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गर्नुभएको छ । 

मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएका पौडेल कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गर्नुभएको हो । 

मलेसियामा राजदूत पौडेलले राजा अब्दुल्लाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुहुनेछ । दुई लाखभन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दूतावास लामो समय राजदूतविहीन थियो । 

दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदूत पौडेलले बताउनुभयो । 

तलब सुविधा, सीप विकास, आवास, उपयुक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रम स्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उहाँको भनाइ छ । 

मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिई श्रमिकहरू जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकाले त्यसतर्फ प्रयास गरिने उहाँले बताउनुभयो । 

मलेसियामा विभिन्न पेसामा रहेका नेपालीहरूसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरूको अधिकतम हित र सुरक्षाका कार्यहरूलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । सन् २०१८ मा भएको श्रम सम्झौता नवीकरणलाई पनि उहाँले प्राथमिकता दिनुभएको छ । 

नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्ध बलियो बनाउने बताउँदै उहाँले नेपालका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार, नेपाली उत्पादनको मलेसियाका बजारमा प्रवद्र्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताको पहिचान र सहजीकरण जस्ता कार्यहरूबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कूटनीतिमा समेत जोड दिने उहाँले बताउनुभयो । 

नेपाल–मलेसियाबीच जनस्तरको सम्बन्ध विस्तारलाई प्राथमिकता दिने उहाँको भनाइ छ । पौडेललाई गत चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले मलेसियाका लागि राजदूत सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उहाँ मलेसिया प्रस्थान गर्नुभएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button