तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका बाढीपीडितको जङ्गलको बास

बेदकोट । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ ।

बाढीले प्रभावित भएपछि जङ्गलमा त्रिपाल टाँगेर ओत बसेको एकान्त टोलका मेघु बोहरा बताउनुभयो । “घर भित्रको सामान पूरै बाढीले लग्यो, घरका खम्बा मात्रै बाँकी छन्”, उहाँले भन्नुभयो, “घरभरि माटो नै माटो भएको छ, लत्ताकपडा सबै बाढीले लग्यो ।”

शुक्रबार राति वनहरा नदीमा आएको बाढीले आफूहरूको बिचल्ली भएको उहाँको गुनासो छ । “यतिका दिन भयो, आजसम्म जङ्गलमै त्रिपाल टाँगेर बसेका छौँ, घर कसरी फर्किने त्यहाँ बाढीले केही राखेको छैन”, उहाँले भन्नुभयो, “ओढ्न, बिछ्यान केही छैन, खानका लागि एक कट्ठा चामल पाएका थियौँ, त्यो सकिएपछि के खाने भन्ने चिन्ता छ ।”

जङ्गलमा त्रिपालमुनि बिछ्याउने कपडा नहुँदा समस्या भएको हरिकृष्ण भट्टको गुनासो छ । “घर बस्न लायक नै छैन, फेरि के पो हुन्छ भन्ने डरले त्यहाँ गएका छैनौँ”, उहाँले भन्नुभयो, “वर्षभरी खाने खेतको अन्नसमेत माटोमा मिसिएको छ, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो ।”

एकान्त टोलमा १५ कट्ठा जग्गामा लगाएको उहाँको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पुर्‍याएको छ । “धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो, २०६४ सालयता यस्तो बाढी हामीले कहिल्यै देखेनौँ”, उहाँले भन्नुभयो ।

बाढी प्रभावित शुक्लाफाँटा नगरपालिका–११ वनहरा शिविरका सुकुम्बासी पनि बिचल्लीमा परेका छन् । त्यहाँका ३० परिवार पनि नजिकैको जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छन् । 

बर्सेनि बाढीको पीडा झेल्दै आए पनि अहिलेसम्म सरकारले आफूहरूलाई नहेरेको वनहराका सुकुम्बासीको गुनासो छ । “नदीले उताबाट धकेल्छ, यताबाट वनले धपाउँछ, प्रशासनले बाँच्नुहोस् भन्छ, कहाँ जाने हामी”, स्थानीय बहादुर कामीले भन्नुभयो । 

बाढीले घरभित्र माटो भरिएकाले बस्तीमा बस्नै नसकिने अवस्था रहेको मानध्वज लुहार बताउनुभयो । “चामल पाएका छौँ, पकाउनलाई भाँडा छैनन्, कहाँ पकाउने रु कसरी पकाउने रु बस्तीमा पानी पनि छैन”, उहाँले दुखेसो पोख्नुभयो । बर्सेनि बाढीले दुःख दिँदै आए पनि अहिलेसम्म यसको दिगो व्यवस्थापन हुन नसक्दा पीडा खेप्नुपरेको देवकी विष्ट बताउनुभयो । 

“राति एक्कासी बाढी आयो, बालबच्चा काखमा च्यापेर भागे, सरसामान जोगाउन सकिएन”, उहाँले भन्नुभयो, “बाख्रा, लत्ताकपडा कहाँ पुगे, अहिले जङ्गलमा बस्नुपरेको छ, खानलाई अन्न छैन ।”

बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिनुभयो । “बाढीपछिको अवस्थालाई सामान्य बनाउने प्रयास गरिरहेका छौँ, प्रभावितलाई सुरक्षित स्थानमा राखेका छौँ”, उहाँले भन्नुभयो, “उनीहरूको खाने, बस्ने व्यवस्था पनि मिलाएका छौँ ।” बाढी प्रभावितलाई राहत तथा क्षतिपूर्तिका लागि प्रदेश तथा सङ्घ सरकारले समेत सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button