तपाईँ सुन्दै हुनुहुन्छः

‘मुस्ताङ शिखर सम्मेलनले अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण भूमिका खेल्छ’

जोमसोम । प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्ताङ शिखर सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

वन तथा वातावरण मन्त्रालयको आयोजनमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ मुस्ताङ पैरवी सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले इजिप्टमा हुने कोप–२७ को सम्मेलनका लागि मुस्ताङ शिखर सम्मेलन फलदायी रहने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालजस्तो पर्वतीय जैविक विविधता, संस्कृति, विभिन्न क्षेत्रको आर्थिक प्रणाली, वनस्पति, वन्यजन्तु लगायतमा चुनौती र अवसरलाई प्राथमिकीकरण गर्ने अवसर शिखर सम्मेलनले प्रदान गर्नेमा आफू आशावादी रहेको विश्वास व्यक्त गर्नुभयो ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्वतीय मुद्दालाई विश्वव्यापीकरण गर्ने अभियानमा नेपालको अग्रणी भूमिका हुनुपर्ने बताउनुभयो ।

मन्त्री यादवले अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ नेपालका लागि महत्त्वपूर्ण अवसर भएकाले यसलाई विश्वव्यापी बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री यादवले नेपालजस्तो पर्वतीय मुलुकका लागि यो छलफल निकै महत्त्वपूर्ण भएको बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पर्वतीय अर्थतन्त्र, जैविक विविधता, पारिस्थितिक प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र हिमाल अनि तल्लो तटीय क्षेत्रको सम्बन्धजस्ता महत्त्वपूर्ण विषयमा समस्या रहेको बताउनुभयो ।
रासस

तस्वीरः गोरखापत्र अनलाइन

प्रतिक्रिया राख्नुहोस्

Back to top button