तपाईँ सुन्दै हुनुहुन्छः

सुर्यबिनायक नगरपालिकाले थाल्यो बजार अनुगमन

भक्तपुर । दसैँ, तिहार र छठ जस्ता चाडपर्व नजिकिँदै गर्दा सुर्यबिनायक नगरपालिकाले प्रभावकारी रुपमा संयुक्त बजार अनुगमन थालेको छ ।

उपभोक्ताको हितलाई ध्यानमा राखी स्वच्छ बजार कायम राख्न नगरले आफ्नो क्षेत्रभित्रका स्थानीय बजारमा अनुगमन थालेको हो ।

आज सुर्यबिनायक वडा नम्बर ६ र ८ क्षेत्रमा मासु पसल, फलफूल पसल र खाद्य पसललाई लक्षित गरी अनुगमन गरिएको छ ।

नगरपालिकाको नियमित कार्यक्रमअनुसार नै बजार अनुगमन गरिएको नगर उपप्रमुख सरिता भट्टराईले जानकारी दिनुभयो । उपप्रमुख भट्टराईकै नेतृत्वमा बजार अनुगमन सुरु गरिएको छ ।

टोलीले बजार अनुगमनका क्रममा विभिन्न पसलबाट रु १६ हजार ३ सय ३२ रुपैयाँ बराबरको म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरेको नगरपालिकाका अनुगमन अधिकृत सुरज पौडेलले बताउनुभयो ।

अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमेश कुमार दाहाल, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि यादवप्रसाद मिश्र, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि मनोज थापा, उद्योग वाणिज्य संघका प्रतिनिधि गौतम सुजखु, नेपाल प्रहरी, नगर प्रहरी तथा पत्रकारको सहभागिता रहेको थियो ।

बजार अनुगमनलाई तालिका मिलाएर नगरपालिकाभित्र निरन्तर अनुगमन गरिने उपप्रमुख भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button