तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका दश वटै जिल्लामा सुपथ मूल्य पसल सञ्चालन

सुर्खेत । दसैँ, तिहार र छठलाई लक्षित गरेर शनिबारदेखि सुर्खेतसहित कर्णालीका दशै जिल्लामा सुपथ पसल सञ्चालनमा ल्याइएका छन् ।

चाडपर्वको बेलामा बजारमा अस्वाभाविक मूल्यवृद्धि हुने भएकाले सरकारले उपभोक्तालाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले यस्ता सुपथ पसल सञ्चालनमा ल्याएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालयले सुर्खेतको वीरेन्द्रनगरस्थित गोदाम हल लाइनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

सुपथ मूल्य पसलको उद्घाटन गर्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले चाडपर्व लक्षित सहुलियत मूल्य पसल हुने, खाने सहरियालाई मात्र केन्द्रित नगरी दूरदराजका आम नागरिक सम्म पुर्‍याउन आग्रह गर्नुभयो । उहाँले बजार मूल्य अनियन्त्रित रहेकाले अनुगमन प्रभावकारी बनाउँदै उपभोक्तालाई सरकारको उपस्थिति महसुस हुने गरि काम गर्न सबै संयन्त्र परिचालन गरिएको जानकारी दिनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालय प्रमुख माधव मिश्रले सहुलियत मूल्य पसलबाट चामल, दालसहित ध्यू, तेल तथा अन्य मसलाजन्य वस्तुहरूको विधिकरणमा जुटिरहेको बताउनुभयो । उहाँले उपभोक्तालाई राहत दिन प्रदेशका दशै जिल्लामा सुपथ पसल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चामल, दालमा प्रतिकेजी सात रुपियाँ छुट दिइएको छ । सुपथ पसल कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button