कैलालीको डुबान क्षेत्रका नागरिकको उद्धार कार्य जारी

टीकापुर कैलाली । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलाली जिल्लाको दक्षिणी क्षेत्र डुबानमा परेको छ ।
चुरे मुहान भएर बग्ने पथरैया, कन्द्रा, काँढा, मोहना, खुटीया, कटैनी नदिमा आएको बाढीले कैलालीको भजनी, कैलारी, जोशीपुर, टीकापुर, जानकी, धनगढी लगायतका पालिकामा डुबान भएको छ । यता टीकापुर नगरपालिकाको वडा नम्बर ८ को वनगाउँ क्षेत्रमा कर्णाली नदी गाउँ पसेको छ ।
जिल्लाका विभिन्न पालिकामा भएको डुबानका कारण हजारौँ नागरिक प्रभावित भएका छन् भने सयाँै घर डुबानमा परेका छन् । जिल्लामा कैलालीको भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।
भजनी नगरपालिका सबै डुबानमा परेको र त्यसमा पनि वडा नम्बर ३, ५, ७ र ८ बढी प्रभावित भएका भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले जानकारी दिनुभयो । पुरै पालिका डुबानमा परेको छ, अहिले डुबानमा परेकाहरूको उद्धार कार्य जारी रहेको छ । कति घर डुबानमा परे कति धनको क्षति भयो भन्ने अहिले आँकलन गर्न सकिने अवस्था नरहेको प्रमुख चौधरीको भनाई छ ।
टीकापुर नगरपालिकामा कर्णाली, मोहना र पथरैया नदिको पानी गाउँमा पस्दा करिब साढे ५ सय घर डुबानमा परेका छन् । वडा नम्बर ८ को वनगाँउमा कर्णाली नदीले तटबन्ध भत्काएर गाउँमा पस्दा त्यहाँ निकै जोखिम बढेको छ । त्यहाँका नागरिकहरूलाई उच्च घरमा सारिएको छ । अहिलेको यो तथ्याङ्क नै अन्तिम नभएको र अझै पनि तथ्याङ्क सङ्कलन गर्ने काम जारी रहेकाले बाढीबाट प्रभावितहरूको सङ्ख्या बढ्न सक्ने नगर उप–प्रमुख खडक शाहले जानकारी दिनुभयो ।
जानकी गाउँपालिकामा पनि पथरैया नदिको पानी गाउँमा पस्दा वडा नं. ४ र ७ का १ सय ५ घर विस्थापित भएका छन् भने २ सय घर परिवार प्रभावित भएका छन् । उनीहरू अहिले स्थानीय स्तरमा बनेका उच्च घरमा आश्रय लिएर बसिरहेका र डुबानबाट विस्थापित परिवारलाई गाउँपालिकाले सामूहिक मेस सञ्चालन गरि खानाको व्यवस्था गरेको जानकी गाउँपालिका विपद् व्यवस्थापन शाखाका संयोजक नेत्र प्रसाद जैशीले जानकारी दिनुभयो ।
जोशीपुर गाउँपालिकामा पनि करिब १ हजार घर डुबानमा परेका र त्यसको एकिन तथ्याङ्क आउन केही दिन लाग्ने गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीले जानकारी दिनुभयो । अहिले गाउँपालिकाले बाढीबाट विस्थापित भएकाहरूलाई सुरक्षित स्थानतर्फ सारी उनीहरुलाई तत्कालीन राहात दिने काम भइरहेको अध्यक्ष चौधरीले बताउनुभयो ।
कैलारी गाउँपालिकाको पनि वडा नम्बर १,२,५,७ र ८ डुबानमा परेका छन् । १ र २ नम्बर आंशिक रुपमा डुबानमा परे पनि ५, ७ र ८ नम्बर वडाका सबै घरहरू डुबानमा परेका कारण कति घर डुबानमा परे भनी तथ्याङ्क समेत लिन सकिने अवस्था छैन ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहयोगमा डुबानमा फसेकाहरूलाई उद्धार गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीले जानकारी दिनुभयो ।
बाढी प्रभावित क्षेत्रमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, स्थानीय पालिका तथा वडा कार्यालयको समन्वय र सहकार्यमा उद्धार तथा उनीहरुलाई तत्कालीन राहात प्रदान गर्ने काम भइरहेको छ ।
कर्णाली नदिमा पनि पानीको सतह घट्ने क्रम रहेको छ । कर्णाली चिसापानीमा गएराति १० मिटर ७५ सेन्टिमिटर पुगेको पानीको सतह अहिले घटेर ९ मिटर ९५ सेन्टिमिटर झरेको जल तथा मौसम विज्ञान विभागको जल मापन केन्द्र कर्णाली चिसापानीकी गेज रिर्डर पार्वती गुरुङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्