धरानमा सडक पेटी अतिक्रमण गरी बसेका फुटपाथका पसल हटाउन सुरु
सुनसरी । धरान उपमहानगरपालिकाले सडक पेटी अतिक्रमण गरेर बसेका फुटपाथका पसलहरू हटाउन सुरु गरेको छ ।
उपमहानगरपालिकाले आज पहिलो दिन धरान–२ को नरेन्द्र पथमा रहेको फुटपाथमा पसल थाप्न प्रयोग गरिएको सामाग्री हटाएको छ ।
भानु चोकदेखि पश्चिम नरेन्द्र पथमा व्यवस्थित सब्जिमण्डि भएर पनि फुटपाथमा सडक नै ढाक्ने गरी खाट राखेर, प्लास्टिक टाँगेर पसल थाप्दा सडकमा सर्वसाधारण आउजाउ गर्न नै समस्या हुने भन्दै धरान उपमहानगरपालिकामा स्थानीयवासीले गुनासो गरेपछि कार्यपालिका बैठकले फुटपाथ हटाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार फुटपाथको पसल हटाउने बारे सूचना जारी गरी माइकिङ गर्दा समेत अटेरी गरेको पाइएकोले आज फुटपाथको पसल राख्ने स्थानहरू हटाइएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताउनुभयो ।
बजार अव्यवस्थित भएको जनगुनासोपछि धरान उपमहानगरपालिकाले फुटपाथ हटाउने निर्णय गरी अभियानको थालनी गरेको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्