तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाले  प्रभावित सुदूरपश्चिम (फोटो फिचर) 

कञ्चनपुर । लगातार दुई दिनदेखि भइरहेको वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । बिहीबार बिहानैदेखि सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

वर्षासँगै सुदूर तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीका केही बस्तीहरू डुबानमा परेका छन् भने पहाडी जिल्लाहरूका ठाउँ ठाउँमा पहिरोले भूक्षय गरेको छ । कञ्चनपुरका शुक्लाफाँटा, लालझाडी, बेलौरी, पुनर्वास  र कृष्णपुरका केही बस्ती डुबानमा परेका छन् । किसानले लगाएको धान बाली, उखु बाली, तरकारी, फलफूल र तेलहन तथा दलहनमा समेत वर्षाले क्षति पुगेको छ । 

शुक्लाफाँटाको तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बनहरा नदिको बाढीले कटान गर्दा ढलेको छ । होचो ठाउँमा रहेका विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक स्थल तथा पसलहरूमा समेत पानी पसेर क्षति पुगेको खबर छ । मानव बस्तीमा बाढी पस्दा बढी प्रभावित मानव र पशु चौपायाको सुरक्षा निकाय, रेडक्रस तथा स्थानीयको टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । मोहना, खुटिया, कान्द्रा, पथरिया, दोदा, सुनबरा, बनहरा, स्याली, चौधर लगायतका साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी आई खतरा आसपास पुगेको छ ।

कैलालीको भजनी स्थित पथरिया नदीमा पानीको सतह बढ्न गई सोनाफाँटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका करिब १५० घरधुरीमा पानी पसेको तथा कान्द्रा नदीमा पानीको सतह बढ्न गई मिलनपुर टोल, लालबोझी, पुलियापुर टोल, शिविर टोल, गणेशमान टोल र दक्षिणपुर्वा टोलका करिब ५०० घरधुरीमा पानी पसेको इलाका प्रहरी कार्यालय भजनी कैलालीले जनाएको छ । नदीको बहाव बढ्ने क्रम जारी रहेको तर हालसम्म मानवीय तथा पशु चौपाया क्षति, विस्थापित कोही नभएको बताइएको छ । अविरल वर्षाका कारण कैलालीको चुरे स्थित भीमदत्त राजमार्गमा सडक माथिबाट पहिरो खस्न गई बाटो अवरोध भएको र बाटो खोल्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले जनाएको छ । 

जल तथा मौसम विज्ञान विभागले समेत कञ्चनपुर र कैलालीमा भारी वर्षा मापन भएकोले सतर्क रहन आग्रह गरेको छ । शुक्रबार दिउँसो देखि शनिबार बिहानसम्म कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुने भन्दै विभागले सचेत रहन आग्रह गरेको हो । अझै पनि थप वर्षा हुने भएकाले कञ्चनपुर र कैलालीका  साना नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । वर्षाकै कारण जङ्गल क्षेत्र भित्र  केही ठाउँमा रुख ढल्दा विद्युतीय संरचनामा क्षति पुग्न गई कञ्चनपुरको आधा भूभागमा विद्युत् सेवा समेत अवरुद्ध भएको छ । प्राविधिक टोली शनिबार बिहानैदेखि मर्मत कार्यमा खटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button