कमाण्ड अवधारणालाई यथावत् राख्दै, पृतनालाई अघि बढाउँदै सेना
काठमाडौँ । नेपाली सेनाले कमान्डको अवधारणालाई यथावत् राख्दै साङ्गठनिक पुनः संरचना २०७८ लागू हुनु पूर्व कायम रहेका पृतना, बाहिनी, गण र गुल्मको संरचना कायम राख्ने निर्णय गरेको छ ।

फिल्डदेखि जङ्गी अड्डासम्म सेनाको सन्तुलित उपस्थिति भई चेन अफ कमान्डलाई मजबुद बनाउने उद्देश्यले विगतका संरचना यथावत् कायम राख्न सैनिक मुख्यालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले यही भदौ २१ गते स्वीकृत गरेको छ । सो निर्णयलाई कार्यान्वयन गर्दा थप आर्थिक दायित्व नपर्ने र कूल दरबन्दी सङ्ख्या यथावत् नै रहने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “निकट भविष्यमा नै आठवटै पृतना पूर्ववत् रूपमा क्रियाशील भई आसन्न निर्वाचनमा सेना परिचालन हुनका लागि सहज हुने भएकाले मन्त्रिपरिषद्को निर्णयअनुरूप आवश्यक तयारी र योजना भइरहेको छ ।”

देशको प्रादेशिक तथा स्थानीय संरचनासँग सामञ्जस्यता कायम गरी निर्वाचन सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा लगायतका प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा सम्पादन गर्न असहजता भएपछि सेना कमान्डसँगै पृतना अवधारणालाई अघि बढाउने निर्णयमा पुगेको हो ।
स्वीकृत साङ्गठनिक संरचना, २०७८ लाई कार्यान्वयनमा लैजाँदा आइपरेका व्यावहारिक कठिनाइ, कानूनी तथा नीतिगत व्यवधान, कमाण्ड हेडक्वार्टर लगायत तल्लो तहबाट प्राप्त पृष्ठपोषणका आधारमा सेना उक्त निर्णयमा पुगेको छ । पुनः संरचना लागू गर्दा खडा गर्नुपर्ने युनिटका लागि आवश्यक आर्थिक उल्झन बहन गर्न हालको अवस्थामा असम्भव प्राय भएको सेनाको स्पष्टोक्ति छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्