म्यादी प्रहरीको फारम भर्न युवायुवतीको भिड
वीरगञ्ज । आगामी मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरीको फारम भर्न जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबारदेखि युवायुवतीको भिड लागेको छ ।

म्यादी भर्नाका लागि बिहीबारदेखि आवेदन लिने कार्य सुरु भएसँगै युवायुवतीहरूको भिड लागेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले बिहीबार पहिलो दिन ६ सय ९८ जना युवायुवतीले फारम भरेकोमा शुक्रवार ११ सय भन्दा बढीले फारम भरेको बताउनुभयो । शुक्रबार बिहानैदेखि सिमसिमे पानीका बाबजुद म्यादीको आवेदन दिन छाता ओढेरै पनि युवायुवतीको लाम लागेको थियो ।
बिहान १० बजेदेखि फारम लिइने भए पनि ८ बजेदेखि नै जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा युवायुवतीको लाइन लागेको डिएसपी गिरीले बताउनुभयो ।
प्रहरी परिसरमा बढेको भिडसँगै वीरगञ्जको मेन रोडमा समेत दिउँसो ट्राफिक जाम भएको थियो । बिहीबारदेखि सुरु भएको आवेदन लिने कार्य असोज ६ गतेसम्म कायम गरिएको डिएसपी गिरीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्