बाल दिवसको अवशरमा राष्ट्रपतिको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवसका अवशरमा शुभकामना सन्देश दिनुभएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार‚ गैरसरकारी संघसंस्था, नागरिक समाज, अभिभावक, विद्यालय लगायत अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको आवश्यकता पर्ने उल्लेख गर्नुृभएको छ ।
राष्ट्रिय बाल दिवस, २०७९ को अवशरमा राष्ट्रपतिले दिनुभएको शुभकामना सन्देशको पुर्णपाठ
राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त ।
संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरण गर्दै बाल अधिकारको क्षेत्रमा नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिबद्धता समेतलाई पूरा गर्न हामीले हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’ मनाउदै आएका छौँ । यस वर्ष पनि “बालमैत्री समाजको आधारस् जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मूल विषयका साथ राष्ट्रिय बालदिवस विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ ।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र संस्थागत संरचनाहरू निर्माण गरेको छ । बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार‚ गैरसरकारी संघसंस्था, नागरिक समाज, अभिभावक, विद्यालय लगायत अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको आवश्यकता पर्दछ ।
राज्यबाट संवैधानिक‚ नीतिगत‚ कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिकाहरू अझै पनि आफ्नो बाँच्न पाउने, संरक्षण पाउने, विकास र सहभागिताको आधारभूत अधिकारबाट बञ्चित हुनु परेको अवस्था कायमै रहेको छ । बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै सबैका लागि बालअधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न म सम्बद्ध पक्षको ध्यान आकृष्ट गर्न चाहन्छु ।
यस अवसरमा म बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बालअधिकारकर्मी, सामाजिक संघसंस्था, नागरिक समाज‚ निजी क्षेत्रले निर्वाह गर्दै आएको भूमिकाका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।
अन्तमा‚ आजका बालबालिका नै भविष्यका कर्णधार भएकाले उनीहरूको उचित पालनपोषण‚ शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासका लागि आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न हामी सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान प्रदान गर्ने विश्वास व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७९ भदौ २९ गते बुधबार ।








प्रतिक्रिया राख्नुहोस्