चितवन प्रहरीको सुरक्षा योजना सार्वजनिक

भरतपुर । अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि चितवन प्रहरीले चाडबाड सुरक्षा योजनालाई थप प्रभावकारी र सक्रियता बढाएको छ । दसैँ र तिहार तथा आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी सुरक्षा योजनालाई थप सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
चितवन प्रहरी २४ सै घण्टा शान्ति सुरक्षा खटिँदै आएपनि चाडबाड र चुनावमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न विशेष सुरक्षा योजना बनाइएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । ‘यस पटकको सुरक्षा योजना फरक, संवेदनशील भएकोले थप सर्तकर्ता अपनाइने छ । यसका लागि सुरक्षा निकायमा सबै संयन्त्र परिचालन र सुरक्षा कर्मी थप गरिएको छ । ‘गतबर्षको भन्दा अहिलेको सुरक्षा चुनौती फरक छ, संवेदनशील छ , अहिले चाडबाड र चुनाव पनि निरन्तर छ ।’ अधिकारीले भन्नुभयो । चितवन देशकै केन्द्र र सुरक्षा चुनौती बढी रहेकोले चितवन प्रहरी अझ बढी सक्रिय रहेको उहाँको भनाई छ । ‘हामीले अन्य संयन्त्र, टेक्निक, योजना थप गरेका छौँ अधिकारीले भने, हामीले कुकुर परिचालन, सादा पोसाकका परिचालन र हतियारधारी सुरक्षाकर्मीसहित लामो दुरीका बसमा पनि राख्नेछौँ । ’
चितवनका मुख्य बजार, भिडभाड हुने क्षेत्र र अघिल्ला वर्षहरूमा बढी अपराध हुने क्षेत्र पहिचान गरी प्रहरी परिचालन गर्ने अधिकारीले बताउनु भयो । ‘बिशेषगरी चाडबाड र चुनावमा चोरीका घटना , हिंसा र अन्य अपराधका घटना वृद्धि हुने गरेको छ , विगतका वर्षहरूका घटनाक्रमलाई विश्लेषण गरी सोही अनुसार योजना बनाएका छौँ । ’ अधिकारी भन्नुभयो ।
चाडबाडमा शान्ति सुरक्षालाई कायम राख्न सुरक्षा कर्मी मात्र नभई नागरिक पनि उत्तिकै सतर्क हुनुपर्ने उनको भनाई छ । नागरिक पनि बर्दी विनाका प्रहरी हुन्, प्रहरीलाई सहयोग गर्नु नागरिकको पनि उत्तिकै दायित्व हुन आउँछ । प्रहरी एक्लैले मात्र सबै कुरा गर्न सक्दैन । उहाँले भन्नुभयो ।
त्यस्तै, सुनचाँदी, वित्तीय संस्था र भिडभाड हुने क्षेत्रमा बढी सुरक्षा सतर्कता अपनाइने छ । सादा पोसाकमा हुने प्रहरीले रेकी गर्ने र कुनै स्थानमा घटना भएमा तत्काल प्रहरी परिचालनका लागि ‘क्वीक रेस्पोन्स’ टिम नै बनाउने उहाँले जानकारी दिनुभयो ।
चितवन प्रहरीले चाडबाडको समयमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीको समन्वयमा मुख्य र भित्री सडकमा आवश्यक मात्रामा सुरक्षा जनशक्ति खटाउने भएको छ । मापसे, अत्यधिक यात्रु सवार लगायतका कारणले चाडबाडको समयमा बढी दुर्घटना हुने गरेकोले प्रहरीले यसतर्फ बढी विशेष ध्यान दिने उहाँको भनाई छ ।
अपराध न्यूनीकरणका लागि नागरिक–प्रहरी साझेदारी थप प्रभावकारी बनाउने, पर्चा बाँड्ने, माईकिङ्ग गर्ने लगायतका कामलाई तीव्रता दिइने अधिकारीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्