राष्ट्र बैङ्कको चालु कर्जा पूंँजी सम्बन्धी मार्ग निर्देशन प्रति उद्योगीको गुनासो

चितवन । नेपाल राष्ट्र बैंकले गत पुसमा जारी गरेको र यही भदौ ७ गतेदेखि कार्यान्वयनमा ल्याएको चालु कर्जा पूंँजी सम्बन्धी मार्ग निर्देशन, २०७९ प्रति चितवनका उद्योगीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
कोरोनाका कारण शिथिल भएको व्यवसाय र आर्थिक मन्दीको बेला राष्ट्र बैङ्कको यो मार्ग निर्देशन समय अनुकूल नभएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् । आइतबार भरतपुर स्थित चितवन उद्योग सङ्घको सभाहलमा आयोजित सरोकारवालाबीचको अन्तर्क्रियामा उद्योगीले मार्ग निर्देशन संशोधन गर्नुपर्ने माग समेत राखेका थिए ।
रिजाल फुडका प्रबन्ध निर्देशक पुरुषोत्तम रिजालले राष्ट्र बैङ्कको यो मार्ग निर्देशन व्यवहारिक नभएको टिप्पणी गर्नुभयो । यो मार्ग निर्देशन उद्योगीहरूलाई बाध्यकारी बनाइएको भन्दै उहाँले देशको परिस्थिति अनुसार बनाउनु पर्नेमा जोड दिनुभयो । यो मार्गनिर्देशनले व्यवसायी थप विस्थापित हुने जोखिम रहेको उहाँले बताउनु भयो ।अर्का उद्योगी सूर्यप्रसाद न्यौपानेले बाह्य कच्चा पदार्थमा निर्भर र भू–परिवेष्टित नेपालमा यो मार्ग निर्देशन समयसापेक्ष नभएको बताउनुभयो ।
उद्योगी तारा पौडेलले यो मार्ग निर्देशन उद्योगीहरूलाई विस्थापित गर्न ल्याइएको तर बैङ्कलाई प्रवर्द्धन गर्न ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । ‘आर्थिक सङ्कटको बेलामा पनि बैङ्क घाटामा छैनन्, उहाँले भन्नुभयो, बैङ्कलाई प्रोत्साहित गर्ने उद्योगीलाई निरुत्साहित गर्ने यो कस्तो मार्ग निर्देशन हो ।’

सिद्धार्थ बैङ्कका क्षेत्रीय प्रमुख दुर्गाराज पाण्डेले उद्योगी व्यवसायी रहेमात्र बैंकपनि रहने भएकाले यो मार्ग निर्देशन समय सापेक्ष नभएको बताउनु भयो । ‘यो मार्ग निर्देशन भनेको गहना बनाउन ठूलो ह्यामर प्रयोग गरेजस्तै हो, उहाँले भन्नुभयो , यसले उद्योगी र व्यवसायीलाई प्रवर्द्धन गर्नुभन्दा मिटर व्याजीलाई प्रश्रय दिन्छ ।’
चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेलले अहिले व्यवसायमा मुस्किलले ५ देखि १० प्रतिशत पनि खुद नाफा नभएको अवस्थामा यो मार्गनिर्देशनले उद्योग थप धराशायी हुने बताउनुभयो । ‘यो नीति अहिले ल्याउने समय नै होइन । उद्योगी व्यवसायी मर्ने अवस्थामा पुगेका छन् पौडेलले भन्नुभयो, यो नीति लिक्वीडिटी सहज भएको अवस्थामा ल्याउनु पर्थ्यो ।’
उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले प्रोजेक्ट भन्दा व्यक्ति हेरेर मार्ग निर्देशन ल्याइएको बताउनु भयो । ‘सीमित समस्या समाधानका लागि यो असीमित योजना हो यो , श्रेष्ठले भन्नुभयो , यो मार्ग निर्देशन हो कि निर्देशन हो ।’ राष्ट्र बैङ्क चालु कर्जा सम्बन्धी मार्ग निर्देशन भन्दा क्रेडिट एक्ट ल्याउन उहाँले माग गर्नुभयो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले यस्तो सङ्कटको बेलामा पनि राज्यले उद्योगी व्यवसायीलाई अपराधीको जस्तै व्यवहार गरेको बताउनु भयो । ‘पोल्ट्रीलाई नै हेरौँ ४ वर्षदेखि लगातार घाटामा छ , यो अवस्था आउनुमा बैंकनै दोषी छ । बैंकले बिगारेको हो । यो मार्ग निर्देशन बेमौसमको बाजा जस्तै छ ।’ उहाँले भन्नुभयो ।
अन्तर्क्रिया कार्यक्रममा सवाल प्रश्नको जवाफ दिदैं नेपाल राष्ट्रबैंक नियमन विभागका निर्देशक किरण पण्डितले उद्योगी व्यवसायीको राय सुझावको आधारमा मार्ग निर्देशन संशोधन गर्दै लैजान सकिने आश्वासन दिनुभयो ।
‘मार्ग निर्देशन ल्याउने, लागु गर्ने भनेकै विषम परिस्थितिमा हो । यस्तै अवस्थामा कडा नीति आउने गर्छ । पण्डितले भन्नुभयो, ब्याजदर घटाउँदा बैङ्क मर्कामा पर्छन् । बढाउँदा व्यवसायी मर्कामा परेका छन् ।’ व्यवसायमा उधारो चुक्ता गर्ने दायित्व पनि व्यवसायीको नै रहेको भन्दै उनले भने, ‘रिसिभेवलको जति दायित्व हुन्छ पेवेलको पनि उत्तिकै दायित्व हुन्छ होला नि !’
पछिल्लो समय चालु कर्जा पूंँजी प्रवाहको अनुपात पाँच गुणा बढेको भन्दै पण्डितले कर्जाको सही सदुपयोग नभएको बताउनुभयो । ‘अहिले जिडिपी भन्दा कर्जा प्रवाह बढी छ । यो मार्ग निर्देशन बैङ्कलाई इन्करेज र व्यवसायीलाई निर्देशनले बाँधिएको छ । ’उहाँले भन्नुभयो ।
पछिल्लो समय ओभरड्राफ्ट, क्यास क्रेडिट र डिमाण्ड लोन लिने गरेका व्यवसायीले व्याज मात्र तिर्ने गरेको तर सावाँ नघटाएकोले पनि यो मार्ग निर्देशन ल्याइएको उहाँको भनाई थियो । ‘व्यवसायीले व्याज मात्र तिर्ने लोन नतिर्ने अनि खराब कर्जालाई ढाक्न चालु कर्जाको प्रयोग भएको छ ।’उहाँले भन्नुभयो । सबै क्षेत्रका सरोकारवालाको सहभागितामा मार्ग निर्देशन बनेको भन्दै उद्योगी व्यवसायी मार्गनिर्देशनको बनोट र बुझाइमा मात्र अन्यौल भएको उहाँले तर्क गर्नुभयो । कार्यक्रममा उद्योगी व्यवसायी, बैंकर्स, चार्टड एकाउण्टेट लगायतको सहभागिता थियो ।







प्रतिक्रिया राख्नुहोस्