तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा संविधान दिवसको तयारी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०७९ मनाउनको लागि विशेष तयारी गरेको छ । यसका लागि मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा प्रदेश सरकारका मन्त्री, सभामुख, उपसभामुख, मुख्यन्यायाधीश, स्थानीय तह, विभिन्न प्रदेश स्तरका सामाजिक संघ संस्था प्रमुख तथा प्रतिनिधीहरुको रहेको १०० सदस्यीय संविधान दिवस २०७९ मुल समारोह समिति गठन गरिएको छ ।

यस्तैगरी आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माको अध्यक्षतामा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयका सचिव, सबै मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख र आन्तरिक मामिला तथा सञ्चार सचिव सदस्य सचिव रहेको निर्देशक समिति गठन गरिएको छ ।

बैठकले आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माको अध्यक्षतामा नै समारोह व्यवस्थापन समिति गठन गरेको छ । यसैगरि संविधान दिवसको अवसरमा अवसर २०७९ असोज २, ३, ४ गते विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।

असोज २ गते प्रदेशस्थित सबै कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, प्रदेशमा रहेका कार्यालयमा सरसफाइ गर्ने, प्रदेश स्थित सबै कार्यालयमा दीपावली गर्ने निर्णय सरकारले गरेको छ । यसैगरी असोज ३ गते बिहान प्रभातफेरी गर्ने, स्थानीय झाँकी प्रदर्शन गर्ने, प्रदेश सरकारबाट पदक पाउनेहरूको नामावली सार्वजनिक गर्ने, स्थानीय टेलिभिजनहरूबाट अन्तरवार्ता, परिसंवाद लगायत प्रसारण गर्न सञ्चारमाध्यमहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रदेशका १२ वटै जिल्लाका सबै स्थानीय तहहरूलाई विभिन्न कार्यक्रम गर्नका लागि अनुरोध गर्ने, साँझ दीपावली गर्ने निर्णय गरिएको छ ।

यसैगरी २०७९ असोज ४ गते बुटवलमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, प्रदेशस्थित कार्यालयहरूमा साँझ दीपावली गर्ने, आफ्नो कार्यलयहरुले विभिन्न नव प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button