केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले प्रस्तुत गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिबाट स्वीकृत गरेको हो
यसअघि सभाले “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” लाई प्रस्तुत गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १०५ र नियम १११ का प्रावधानको समय सीमा छोट्याउन नियमावलीको नियम २५० बमोजिम नियम निलम्बन गर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो ।
प्रस्तावमाथि विरोधको सूचना राख्दै सांसद प्रेम सुवालले शासनमा रहेकाहरूले शक्तिको दुरुपयोग गरेर विधेयक ल्याउन समय छोट्याइनु गलत भएको बताउनुभयो ।
विरोधका सूचना राख्ने सांसदको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, मा अन्तर्राष्ट्रिय कानुन अनुसार कानुनलाई संशोधन गर्न आवश्यक रहेकाले विभिन्न १६ वटा कानुनलाई संशोधन गर्ने गरी विधेयक ल्याइएको बताउनुभयो ।
मन्त्री कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको सन्दर्भमा ल्याइएको कानुनको सन्दर्भमा संसद्को कार्यकालबारे पनि स्पष्ट बनाउन जरुरी रहेकाले संशोधन विधेयक ल्याइएको बताउनुभयो ।
यसअघि, बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको “नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी सभालाई गराउनुभएको थियो ।
यस्तै विभिन्न समितिमा मनोनयन तथा हेरफेर गर्न सभामुख अग्निप्रसाद सापकोटाले राख्नुभएको प्रस्तावलाई बैठकले सहमति जनाएको थियो ।
बैठकको सुरुमा विशेष समय लिएर बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका सांसद राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा घोषणा गर्नुभएको थियो ।
सांसद लिङ्देनले निर्वाचन घोषणा भइसेकाले संसदमा उपस्थित भइरहन अप्ठेरो लागेको भन्दै संसद् पदबाट अलग हुने निर्णय लिएको बताउनुभयो ।
सांसद लिङ्देनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा संसद् रहिरहने निर्णयले आफूलाई असाध्यै लज्जित र दुखित बनाएको भन्दै आफूले पाउने तलब भत्ता र सुविधा आजैबाट नपठाउन समेत आग्रह गर्नुभयो ।
विशेष समय लिएर बोल्ने क्रममा सांसद भीमसेनदास प्रधानले राजनीतिक द्वन्द्वको चपेटामा परेको त्रिभुवन विश्वविद्यालयलाई राजनीति मुक्त बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।
बैठकमा विशेष समय लिएर सांसद प्रेम सुवालले नागरिकता विधेयक प्रमाणीकरणका लागि पठाउनबाट रोक्न र निर्वाचन घोषणा भइसकेपछि संसद् सञ्चालन रोकेर तटस्थ सरकारको घोषणा गरिनुपर्ने बताउनुभयो ।
यसअघि, शून्य समयमा सांसदहरुले सडकमा छाडिएका छाडा चौपाया व्यवस्थापन, डेङ्गु रोग नियन्त्रण, त्रिविको समस्या चाँडो समाधानको पहल गरिनुपर्ने, महँगी नियन्त्रण, किसानलाई बाढीको क्षतिपूर्ति तत्काल दिनुपर्ने बताउनुभयो ।
यस्तै सांसदहरुले मेलम्चीको बाढीले पुर्याएको क्षतिको राहत र पुनर्स्थापना दिन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक भदौ २१ गते मङ्गलवार दिनको १ः०० बजे बस्नेछ ।







प्रतिक्रिया राख्नुहोस्