दूधमा आत्मनिर्भर बन्दै सल्यान

सल्यान । सल्यानमा गत आर्थिक वर्ष २०७८/०७९ मा १९ हजार मेट्रिक टनभन्दा बढी दूध उत्पादन भएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा १९ हजार १ सय ४४ मेट्रिकटन दूध उत्पादन भएको हो ।
उत्पादन भएको मध्ये ८० प्रतिशतभन्दा बढी दूध जिल्लामै खपत हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।
जिल्लाबाट वार्षिक १२ दशमलव ४ प्रतिशत दूध जिल्ला बाहिर निकासी हुने गरेको कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले बताउनुभयो ।
“जिल्ला बाहिर निकासी भएको दूधबाट ७ लाख ४४ हजार रुपैयाँ किसानको हातमा परेको छ ।” उहाँले भन्नुभयो “जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरूको आकर्षण बढाउन किसान लक्षित कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ ।”
आर्थिक वर्ष २०७७÷०७८ सल्यानमा झण्डै दुई करोड लिटर दूध उत्पादन भएको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार १ करोड ९१ लाख ६२ हजार लिटर दूध उत्पादन भएको थियो ।
कार्यालयका अनुसार जिल्लामा १९ हजार १ सय ६२ मेट्रिकटन दूध उत्पादन भएकोमा १७ लाख ३ हजार लिटर जिल्ला बाहिर निकासी भएको छ ।
१७ लाख ३ हजार दूध निकासीबाट ९५ लाख १५ हजार रुपैयाँ भित्रिएको कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
दूध उत्पादनलाई वृद्धि गर्न एक स्थानीय तह एक पशु सेवा उत्पादन कार्यक्रम अन्तर्गत कार्यालयले बागचौर, शारदा नगरपालिका, दार्मा, त्रिवेणी र कपुरकोट गाउँपालिकालाई दुग्ध पकेट क्षेत्रका रुपमा विकास गरेको छ ।
दार्मा गाउँपालिकाबाट मात्र दैनिक २ हजार लिटर दूध निकासी हुने गरेको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो ।
कार्यालयले पशुपालन व्यवसायमा संलग्न कृषकलाई सहज होस् भनेर पशुआहारका लागि उन्नत जातको घाँसको बीउ वितरण, पशु स्वास्थ्य सम्बन्धी विभिन्न समस्याको उपचारका सहयोग, क्षमता अभिवृद्धि कार्यक्रम, अनुदान रकम र विभिन्न सामाग्री प्रोत्साहन स्वरूप उपलब्ध गराउँदै आइरहेको उहाँको भनाई छ । जसले गर्दा व्यवसाय बढ्नुका साथै दूध उत्पादनमा वृद्धि आएको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्