साझेदारी वनद्वारा साढे तीन लाख बढी बिरुवा उत्पादन

कपिलवस्तु । जिल्लाका तीन साझेदारी वनले तीन लाख बढी बिरुवा उत्पादन गरेका छन् । कपिलवस्तु साझेदारी वन,शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न जातका बिरुवा उत्पादन गरी वितरणको तयारी गरेका हुन् ।
उजाड भएका क्षेत्र र वन अतिक्रमित क्षेत्रमा वृक्षारोपण गर्नका लागि बिरुवा उत्पादन गरि वितरण गर्ने कार्यक्रम राखिएको डिभिजन प्रमुख दधिलाल कँडेलले जानकारी दिनु भयो । वन अतिक्रमित क्षेत्र तथा नर्सरी क्षेत्रको अनुगमनका क्रममा उहाँले हरियाली वातावरणका लागि वन क्षेत्र बढाउने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका महाराजगन्ज नगरपालिका,कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा वृक्षारोपणको लागि सबै साझेदारी तथा डिभिजन वनले बिरुवाहरू उत्पादन गरिरहेको बताउनुभयो ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि साझेदारी वनले उपभोक्तालाई मध्यनजर गरी फलफूलका बिरुवाहरू वितरण गर्ने कपिलवस्तु साझेदारी बनका अध्यक्ष गंगेश तिवारीले बताउनुभयो । बिरुवाहरूको लागि निवेदन दिने क्रम सुरु भएकोले अब केही दिनभित्रै बिरुवा वितरण कार्य सुरु गरिने तिवारीले बताउनुभयो ।

कपिलवस्तु साझेदारी वनले १ लाख ३० हजार बिरुवाहरू उत्पादन गरेको छ । महाराजगन्ज नगरपालिका क्षेत्र रहेको नर्सरी बिरुवाहरू उत्पादन भएको सहायक वन अधिकृत एजाज अन्सारीले बताउनुभयो ।
त्यस्तै शिवराज साझेदारी वनले यस वर्ष १ लाख २० हजार र गौतमबुद्ध साझेदारी बनले १ लाख १० हजार बिरुवा उत्पादन गरेका छन् । टिक, मसाला, सफेता, निम, तेजपात बकाइनो, जमुना, लगायतका बिरुवा उत्पादन भएको र उपभोक्ताहरूलाई निःशुल्क रूपमा बिरुवा वितरण गरिने सहायक वन अधिकृत प्रेम शङ्कर गुप्ताले बताउनुभयो ।
यता डिभिजन वन कार्यालय गौतमबद्धले यस वर्ष २ लाख ८७ हजार बिरुवा उत्पादन गरेको छ । बहुवर्षिय बिरुवा अन्तर्गत गत वर्षका ९१ हजार बिरुवा पनि यसै वर्ष वितरण गरिने डिभिजन वन कार्यालयका योजना शाखाका अधिकृत गणेश चौधरीले बताउनुभयो ।
शिवराज नगरपालिका ५ रहटकोलमा अतिक्रमित २२ हेक्टर वन क्षेत्रमा वृक्षारोपण गरिएको छ । स्थानीयहरूले उपभोग गर्दै आएको वन क्षेत्रलाई डिभिजन बन कार्यालय गौतमबद्धले तारबार गरि वृक्षारोपण गरेको डिभिजन प्रमुख दधिलाल कँडेलले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्