तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसँग लोसपा नेताहरूको छलफल

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरूले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा उहाँहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनु परेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

छलफलमा राष्ट्रपति भण्डारीले नेपाली नागरिकले नागरिकता नपाएका सन्दर्भमा आफू पनि संवेदनशील रहेको जनाउनुभएको थियो । आफूहरूले उठाएको विषयप्रति राष्ट्रपति अत्यन्त सकारात्मक पाएको लोसपाका नेता केशव झाले जानकारी दिनुभयो ।

राष्ट्रपतिसँगको छलफलमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरद्सिंह भण्डारी लगायत सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पुनर्विचार हुन आवश्यक रहेको सन्देशसहित गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button