वीरगंज–दिल्ली पैदल यात्रा २२ दिनमा पुरा

वीरगंज । नेपाललाई विश्वमा चिनाउन भन्दै वीरगंजबाट गत साउन २२ गते भारतको राजधानी नयाँ दिल्लीसम्मको पैदल यात्रा प्रारम्भ गरेका वीरगंजका युवा शेख मुन्नाले आज २२ औँ दिनमा दिल्लीको इण्डिया गेटमा पुगेर आफ्नो पैदल यात्रा पुरा गर्नु भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ का शेख मुन्नाले गत साउन २२ गते देखि वीरगन्जबाट दिल्ली सम्मको १ हजार ६० किलोमिटरको पैदल यात्रा शुरु गर्नु भएको थियो । २४ औँ दिनमा दिल्ली पुग्ने घोषणा गरे पनि शेख मुन्नाले दुई दिन अगावै आज शनिवार २२ औँ दिनमा दिल्लीको इण्डिया गेटमा पुगेर आफ्नो यात्रा पुरा गर्नु भएको हो ।
नेपाल र भारत दुवै देशको राष्ट्रिय झण्डा सहित आज दिल्लीको इण्डिया गेटमा पुगेका शेख मुन्नालाई नेपाल भारत विश्व विकास फोरमका सभापति मधुरेन्द्र जयसवाल, गोर्खा टाइम्स पत्रिकाका पत्रकार इन्द्र कोमल, शेख अताउलका साथै दिल्ली स्थित नेपाली युवाहरूले स्वागत र सम्मान गरेका छन् ।
आज दिल्लीको इण्डिया गेटमा पुगेर सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै शेख मुन्नाले देशका लागि आफ्नो कीर्तिमानी यात्रा सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा सम्पूर्ण नेपालीलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।
मुन्नाले आफ्नो यो पैदल यात्राले नेपाललाई विश्वमा चिनाउन थप मदत गरेको तथा नेपाल र भारत बिचको रोटी बेटीको सम्बन्धलाई अझ मजबुत बनाउन टेवा पुगेको बताउनु भएको छ








प्रतिक्रिया राख्नुहोस्