तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीहरू भाग्ने क्रम बढेपछि पैसा झिक्नेहरूको भिड

वीरगंज । सहकारीका सञ्चालकहरूले उपभोक्ताको पैसा लिएर भाग्ने क्रम बढेपछि वीरगंजमा अहिले सहकारीबाट पैसा झिक्न उपभोक्ताहरूको भिड लागेको छ । 

सहकारीका सञ्चालकहरू बचतकर्ताको रकम लिएर फरार भएको घटनाहरू सार्वजनिक भएसँगै सहकारीप्रतिको विश्वास घट्दै गएको कारण आफूले जम्मा गरेको रकम झिक्न बाध्य भएको वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटका सन्दिप साहले बताउनु भयो ।  

नियमित रुपमा ज्याला मजदुरी गरेर कमाएको रकमबाट खाई नखाई थोरै जम्मा गर्ने सर्वसाधारण उपभोक्ताहरूको रकम लिएर सहकारी संस्थाका सञ्चालकहरू फरार हुन थालेसँगै सहकारीप्रतिको विश्वास बढाउँदै आएका केही सहकारी संस्थालाई पनि असहज भएको एक सहकारी संस्थाका सञ्चालकले गुनासो गरेका छन् । 

एकैचोटी सहकारी संस्थाहरूमा पैसा झिक्नेहरूको भिड बढेपछि सहकारीले मागेजति बचत रकम फिर्ता गर्न नसक्दा कर्मचारी र बचतकर्ताबीच वादविवाद पनि भएको छ । 

वीरगंजका अधिकांश सहकारीबाट बचतकर्ताले झिक्न चाहेको जति रकम सहकारीले दिन नसकेको बचतकर्ताहरूले बताएका छन् । 

केही दिनअघि वीरगञ्जको छपकैयाँमा रहेको मानव समाज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र पदाधिकारी बचतकर्ताको १ करोडभन्दा बढी रकम लिएर भागेपछि बचतकर्ताको सहकारी संस्थामाथिको विश्वास डगमगाएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button