तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगायो, महासचिवमा देवप्रसाद गुरुङ चयन

file photo

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको टुङ्गो लगाएको छ । 

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको टुङ्गो लगाएको हो । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा २० जना पदाधिकारीको प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावलाई बैठकले पारित भएपछि आज पदाधिकारीको टुङ्गो लागेको हो । 

बैठकले वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष एक महासचिव, ७ उपमहासचिव, ९ सचिव र एक कोषाध्यक्ष चयन गरेको छ  ।

बैठकले महासचिवमा देवप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन गरेको छ ।

उपमहासचिवमा गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव तथा सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की एवं कोषाध्यक्षमा श्रीराम ढकाल चयन हुनुभएको छ । 

माओवादी केन्द्रले यसअघि नै अध्यक्षमा पुष्प कमल दाहाल प्रचण्डलाई चयन गरिसकेको  थियो । 

बैठकपछि प्रवक्ता कृष्ण बहादुर महराले स्थायी कमिटी बैठकले विशेष अधिवेशन सम्मका लागि पार्टी पदाधिकारी टुङ्गो लगाएको जानकारी दिनुभयो । 

गत पुस ११ देखि १८ गतेसम्म काठमाडौँको प्रज्ञा भवनमा सम्पन्न माओवादीको आठौँ महाधिवेशन लगत्तै अध्यक्ष चयन गरे पनि पदाधिकारी भने टुङ्गो लगाउन सकेको थिएन ।  

यस्तै बैठकले मङ्सिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति समेत बनाएको छ ।

यस्तै विद्यार्थी सङ्गठनमा देखिएको विवाद मिलाउन पार्टी अध्यक्ष दाहाललाई जिम्मेवारी दिने र केही विभाग र आयोगलाई केन्द्रिय कार्यालयसँगको सल्लाहमा  पूर्णता दिने निर्णय भएको प्रवक्ता महराले जानकारी दिनुभयो । 

यसैगरी प्रदेश, विशेष समिति र सम्पर्क समन्वय समितिहरूका लागि प्रशिक्षण राख्ने कार्यतालिका समेत बैठकले तय गरेको प्रवक्ता महराले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button