‘नेपाल चीनबीचको मित्रता प्रगाढ बनाउन अरनिकोको योगदान महत्त्वपूर्ण’
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अरनिकोले चीनमा बनाएका चैत्यहरूले नेपाल चीन बीचको मित्रतालाई प्रगाढ बनाउँदै आएको बताउनुभएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबिच अरनिकोको जीवनसँग सम्बन्धित अङ्ग्रेजीमा प्रकाशित पुस्तकको विमोचन गर्नुहुँदै राष्ट्रपति भण्डारीले कला, संस्कृतिको जीवन्त सङ्ग्रहालयका रुपमा रहेको पाटन र महान् कलाकार अरनिकोप्रति समर्पित पुस्तकलाई आफूले एउटा महत्त्वपूर्ण ऐतिहासिक कृतिका रुपमा पाएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले अरनिकोले चीनमा बनाएका चैत्यहरूलाई ऐतिहासिक धरोहरका रुपमा चीनले संरक्षण एवं संवर्द्धन गर्दै आएकोमा प्रसन्नता समेत ब्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले अरनिकोको कलाकृति र नेपाललाई विश्वमा चिनाउने कामका बारेमा नेपालका हरेक पुस्ताले जानकारी राख्नुपर्ने र यसलाई प्रेरणाका रुपमा लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा जन्मिनुभएका अरनिकोको जीवनसँग सम्बन्धित पुस्तकले उहाँको योगदानलाई जीवन्त बनाउन मद्दत मिल्ने बताउनुभयो ।

प्रमुख महर्जनले महानगरपालिकाले अरनिकोको जीवनसँग सम्बन्धित सो पुस्तकलाई खरिद गरी महानगरको भ्रमणमा आउने पाहुनाहरूलाई उपहारका रुपमा प्रदान गर्ने पनि बताउनुभयो ।
पुस्तकका लेखक कृष्णकुमार पाण्डे काजीले महान् कलाकार अरनिकोको जीवनसँग सम्बन्धित पुस्तकबाट भावी पुस्ता र विश्व समुदायमा अरनिकोको योगदानलाई पुर्याउन मद्दत मिल्ने विश्वास लिएको बताउनुभयो ।

ललितपुरको ओकोवाहालमा जन्मिनुभएका कलाकार अरनिकोले आफ्नो ६२ वर्षीय जीवनकालमा ४२ वर्ष तिब्बत, चीन र मङ्गोलियामा बिताउनुभएको थियो ।
सो समयमा उहाँले ती देशमा निर्माण गर्नुभएका चैत्यहरू हालसम्म पनि जीवन्त रहेका छन् ।
तस्वीरः सुनिल बज्राचार्य, राष्ट्रपतिको कार्यालय







प्रतिक्रिया राख्नुहोस्