तपाईँ सुन्दै हुनुहुन्छः

चँदुवाले ढाक्यो चौतारा 

सिन्धुपाल्चोक । नेवार समुदायभित्र मनाइने गाईजात्रा र नेपाली हिन्दुहरूको महान् चाड कृष्ण जन्माष्टमीलाई लक्षित गर्दै सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराको आकाशभरि नै चँदुवाले सजाइएको छ ।

परापूर्वकालदेखि मनाइँदै आएको गाई जात्रा पर्व र कृष्ण जन्माष्टमीलाई अझ आकर्षक र भव्य रुपमा मनाउन चौताराको पुरानो बजारलाई दुलही झैँ सिँगारिएको हो ।

हरेक गाईजात्रामा यहाँ भव्य मेला लाग्दै आएको छ । यस वर्ष पनि अझ भव्यरुपमा मनाउन सिन्धु नेवा खलले विभिन्न कार्यक्रमहरूको तयारी गरेको छ । 

बजारमा सरसफाइ गरिएको छ भने चँदुवाले आकाश ढाकेको छ । नेवा खलको अनुसार यस पटक साना साना बालबालिकाहरूले धिमे बाजा बजाउने छन् भने बुहारी र छोरीहरू घिन्ताङघिसी ट्वाकमा नाच्ने छन् । दिउँसो ३ बजेबाट सुरु हुने गाईजात्रा कार्यक्रममा स्थानीय कविहरुबीच व्यङ्ग्यात्मक कविता बाचन प्रतियोगिता हुनेछ भने लाखे लगायत विभिन्न झाँकी र मरुनी प्रस्तुत हुने छ । 

कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र रत्न शाक्यका अनुसार यस पटक पनि गाईजात्राको अवसरमा कृष्ण मन्दिरको  भित्तामा हास्य व्यङ्ग्यात्मक हस्त लिखित भित्ते पत्रिका टाँसिने छ । जुन प्रत्येक गाईजात्रामा यहाँका स्थानीयहरूका लागि आकर्षणको केन्द्र बन्दै आएको छ ।

२०३६ सालबाट सुरु भएको व्यङ्ग्यात्मक भित्ते पत्रिकामा स्थानीय राजनीतिक, सामाजिक, सांस्कृतिक र प्रशासनिक विकृति र विसङ्गति विरुद्धका सामाग्रीहरूले स्थान पाउँदै आएको छ । 

त्यस्तै यस पटक गाईजात्रा र क्वाँटी पनि (जनै पूर्णिमा )एकै दिन परेको हुनाले गाईजात्रा मनाउन आउने भक्तजन एवम् सहभागी सबैलाई क्वाँटी खुवाउने कार्यक्रम पनि रहेको स्थानीय राजेश श्रेष्ठले जानकारी दिनुभयो । यससँगै गाई जात्रा हुने नियमित कार्यक्रम बाजागाजासहित तहामचा र गाईले बजार परिक्रममा गरिने पनि खलले जनाएको छ ।

त्यस्तै, कृष्ण जन्माष्टमीको दिन पनि यहाँ भव्य मेला लाग्ने गर्दछ । मेलामा विभिन्न झाँकी, बाजा गाजासहित कृष्णको प्रतिमालाई रथारोहण गरि बजार परिक्रमा गर्ने चलन छ भने रातभरि सांस्कृतिक कार्यक्रम हुने गर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button