तपाईँ सुन्दै हुनुहुन्छः

‘वैदेशिक रोजगारीबाट फर्केका युवाको ज्ञान, सीप र अनुभव उपयोग गर्नुपर्छ’

भक्तपुर । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले मुलुकको विकास र समृद्धिका लागि वैदेशिक रोजगारबाट फर्केका युवाहरूको ज्ञान, सीप र अनुभव उपयोग गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले आज भक्तपुरको सानो ठिमीमा आयोजना गरेको वैदेशिक रोजगारबाट फर्केका युवाका लागि प्रशिक्षणमूलक कार्यक्रममा मन्त्री गहतराजले सरकारले सोही अनुसार आवश्यक गुरुयोजना तय गरेर अघि बढ्ने बताउनुभयो ।

मन्त्री गहतराजले मुलुकमा विद्यमान बेरोजगारी, गरिबी, अभाव र अनिकालका समस्याहरू समाधानका लागि सबैले संयुक्त पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि प्रकृतिले नै अवसर दिएको उल्लेख गर्दै युवाहरूलाई निराश नहुन आग्रह गर्नुभयो ।

पर्यटन र ठूला उद्योगधन्दा तथा कलकारखानाको स्थापना गरेर पनि मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न सकिने मन्त्री गहतराजको भनाइ थियो ।

विकसित देशहरूले जहाँ छोयो, त्यहाँ पैसा फल्ने वातावरण बनाएर विकास गरेको बताउँदै हामीलाई प्रकृतिले नै त्यो अवसर दिएकोले त्यसको उपयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button