बाघको छालासहित चार जना पक्राउ
कैलाली । कैलाली प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ ।
गए राति सवा १२ बजेतिर कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका वडा नम्बर २ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका वडा नम्बर ६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका वडा नम्बर २ का राजेन्द्र सिंह भण्डारी रहेका छन् ।
उनीहरूको साथबाट एक थान बाघको छाला र २ किलो बाघको हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेशप्रकाश जोशीले जानकारी दिनुभयो ।
पक्राउ परेका सबैलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय कैलाली पठाइने प्रवक्ता जोशीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्