मङ्सिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने कोषको निर्णय
रुपन्देही । कोरोना महामारीका कारण लुम्बिनीमा आउन रोकिएका अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न लुम्बिनीमा आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ ।

लुम्बिनी विकास कोषको बुधबार बसेको परिषद् बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरूको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा नयाँ उभार ल्याउनका लागि मङ्सिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो ।
कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नेदेखि लुम्बिनीको विकासका निम्ति विभिन्न काम गर्ने निर्णय गरेको छ । बैठकले बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा तयारी गर्ने निर्णय पनि गरेको छ ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्नुहुँदै कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठले लुम्बिनीसँग जोडिएका क्षेत्रको विकासमा विशेष ध्यान दिइने बताउनुभयो । उहाँले रामग्राम र देवदहको गुरुयोजना बनाएर विकास गर्ने र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने बताउनुभयो ।
कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रको विकास गर्ने गरी २०२३ देखि २०३३ लाई भ्रमण दशक तोकेर अगाडि बढ्ने तयारीमा सरकार रहेको समेत मन्त्री श्रेष्ठले बताउनुभयो । लुम्बिनी विश्वकै पर्यटकको रोजाइको क्षेत्र भएकाले बुद्ध सर्किटसँग जोडेर यसको विकास गर्ने गरी मन्त्रालयले काम गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै परिषद्ले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न आवश्यक रणनीति, दस्ताबेज तयार गर्ने, ग्लोबल बुद्धिस्ट फोरम गठन गर्नेजस्ता एजेन्डामाथि छलफल भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो ।
लुम्बिनी विकास कोषले गौतम बुद्धको मावली गाउँ देवदहमा निर्माण गरिएको गोल्डेन टेम्पल र फोटो म्युजियमको उद्घाटन गरिएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गोल्डेन टेम्पल र फोटो म्युजियमको उद्घाटन गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्