मुलकको व्यापार घाटा कम गर्न बन्द उद्योग सञ्चालन गर्ने सरकारको नीति : मन्त्री बडू

जनकपुरधाम । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुरधाममा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको आज स्थलगत अनुगमन गर्नुभएको छ ।
मधेश सरकारको प्रशासनिक भवन रहेको जनकपुर चुरोट कारखाना अवस्थाका बारेमा अनुगमन गर्नुहुँदै मन्त्री बडूले नेपालको आर्थिक विकासमा जनकपुर चुरोट कारखानाको निक्कै ठूलो योगदान रहेकाले यो कारखाना सञ्चालन हुँदा नै देशको लागि लाभदायक हुने बताउनुभयो ।

उहाँले यस कारखानाको मेसिन तथा अन्य संरचनाहरू राम्रो अवस्थामा रहेकाले सके सरकारले नभए पनि निजी क्षेत्रसँग सहकार्य गरेर कारखाना चलाए मुलुकको व्यापार घाटामा केही मात्रामा भएपनि कमी ल्याउन सकिन्छ भन्नुभयो ।
मन्त्री बडूले मुलुकमा अहिले व्यापार घाटा निक्कै बढेको बताउनुहुँदै बढ्दो व्यापार घाटा कम गर्नका लागि विगतमा राम्रोसँग सञ्चालन भएका तर विभिन्न कारणले बन्द अवस्थामा रहेका उद्योगहरूलाई पुनः सञ्चालन गर्ने पक्षमा सरकार रहेको बताउनुभयो ।
उहाँले यसका लागि सरकारले विशेष कार्यक्रम नै चालु आर्थिक वर्षको बजेटमा ल्याएको बताउनुभयो ।
नेपालकै ठूलो कारखाना मध्ये एक रहेको जनकपुर चुरोट कारखानाको मेसिन भएको क्षेत्र तथा गोदानहरू अहिले नेपाल सरकारको उद्योग मन्त्रालयको अधीनमा रहेको बताउँदै मन्त्री बडूले कारखानाको निरीक्षणपछि सञ्चालनको विषयमा योजना बनाउने बताउनुभयो ।

उहाँले नेपाल सरकारले बढ्दो व्यापार घाटा कम गर्नका लागि के गर्नु पर्दछ त्यसको विषयमा गृहकार्य थालेको र सोही अन्तर्गत आफूहरू जनकपुर चुरोट कारखानाको निरीक्षणमा आएको बताउनुभयो ।
मन्त्री बडूले कारखाना निक्कै ठूलो भएको र यसको क्षेत्रफल पनि व्यापक भएकाले उद्योग सञ्चालन गर्दा नै मुलुकको व्यापार घाटा कम गर्न तथा रोजगारी सृजना गर्नका मद्दत पुग्ने बताउनुभयो ।

मधेश प्रदेश सरकारले सरकारको मुख्य प्रशासनिक भवन बनाउनका लागि केही दिन अगाडी नै मुख्यमन्त्री लालबाबु राउत सहितका मधेश सरकारका मन्त्रीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउनु भएको थियो । त्यसको केही दिनमा नै संघीय सरकारका उद्योग मन्त्री बडूले कारखानाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
स्थलगत निरीक्षणमा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेपाली काँग्रेसका नेताहरू पनि जनकपुर चुरोट कारखानाको स्थलगत अनुगमन गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्