तपाईँ सुन्दै हुनुहुन्छः

ट्राफिक कार्यालय सुर्खेतद्वारा तीन करोड राजश्व सङ्कलन

सुर्खेत । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ट्राफिक नियम उलङ्घन लगायतका जरिवाना बापत ३ करोड ३२ लाख ६३ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो । 

यो अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को  तुलनामा ३५ दशमलव ८२ प्रतिशतले बढी छ । त्यस आर्थिक वर्षमा कार्यालयले २ करोड ४४ लाख ८९ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेशभर ४ सय २ वटा सडक दुर्घटना भएका छन् । जसमा १ सय ९७ जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा २ सय ३६, आर्थिक वर्ष २०७७/७८ मा २ सय ९१ सडक दुर्घटना भएका थिए । पछिल्लो तीन आर्थिक वर्षमा सडक दुर्घटनाबाट ८ सय ७६ मानवीय र २१ पशुचौपायाको क्षति भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस अवधिमा ९ सय ९२ सडक दुर्घटनामा परेर ३ सय ९२ जनाले ज्यान गुमाएका छन् भने १ हजार २ सय जना घाइते भएका हुन् । तर आर्थिक वर्ष २०७६÷०७७ मा कोरोना सङ्क्रमणका कारण भएको लकडाउनले सवारी साधन कम चल्दा दुर्घटना न्यून देखिन्छ । 

यो तीन वर्षको अवधिमा सबैभन्दा ठूलो दुर्घटना २०७८ असोज २६ गते मुगुमा भएको थियो । मुगुमा भएको सवारी दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका हुन भने १३ जना घाइते भएका थिए । तीन वर्षको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । तथ्याङ्क अनुसार सडक दुर्घटनामा १६ देखि ४० वर्ष उमेर समूहका मानीहरूको धेरै मृत्यु भएको छ । ती मध्ये २० देखि २५ वर्ष उमेर समूहका १ सय ७२ जनाले ज्यान गुमाए । 

सडक दुर्घटनाको मुख्य कारण तीव्र गति देखिएको छ । तीव्र गतिका कारण तीन वर्षमा ५ सय ३९ वटा सडक दुर्घटना भएको कार्यालयले जनाएको छ । यस्तै यान्त्रिक कारणले १ सय ९९, सडक अवस्थाको कारणले ४७, लापरबाहीका कारण ३५, ओभरट्याकको कारण २९, ट्राफिक नियम उलङ्घन ३८ र मौसमका कारण २५ दुर्घटना भएको तथ्याङ्कमा उल्लेख छ । 

कर्णाली प्रदेशमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा जनशक्तिको कमी, स्रोत साधनको कम उपलब्धता, सडकको खराब अवस्था, सवारी चालकको लापरबाही, प्रविधि प्रयोगको अभाव लगायतका कारणले दुर्घटना न्यूनीकरणका लागि चुनौती देखिएको कार्यालयका  प्रमुख प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले बताउनु भयो । उहाँका अनुसार कर्णाली प्रदेश भरी २ सय १८ जना ट्राफिक प्रहरी कार्यरत रहेका छन् । 

जस अनुसार प्रति ट्राफिक प्रहरीले ६३ वटा सवारी साधन रेखदेख गर्नुपर्ने अवस्था छ । मापदण्डविना बनाइएका सडकहरू, अत्यधिक साँघुरा मोडहरू, सडक सुरक्षा पूर्वाधार र सडक चिन्हको कमी, खाल्डाखुल्डी र पहिरोका कारणले दुर्घटना बढ्ने गरेको उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button