गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने ३६ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैर कानुनी रुपमा सञ्चालन गर्दै आएको ‘स्काई वर्ल्ड सर्भिस सेन्टर’बाट उनीहरूलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता टेकबहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनियाँ, दुई भारतीय र ३३ नेपाली नागरिक छन् । उहाँले जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत नगर प्रहरी कार्यालय, प्रहरी वृत्त समेतबाट खटिएको प्रहरी टोलीले कार्यालयमा छापा मारी विद्युतीय उपकरणसहित उनीहरूलाई नियन्त्रणमा लिइएको बताउनुभयो । हिजो मात्र रुपन्देहीमा कल सेन्टर सञ्चालन गर्नेलाई पक्राउ गरिएको थियो ।
उहाँका अनुसार अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाक, धम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोलमोलाइ गर्ने जस्ता गतिविधि गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूबाट नगद आठ लाख २९ हजारसहित ल्यापटप ३६२ थान, डेस्कटप कम्प्युटर ७४८ थान र एक वटा डिभिआर समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रासस







प्रतिक्रिया राख्नुहोस्