तपाईँ सुन्दै हुनुहुन्छः

‘बिजनेस इन्कुवेशन सेन्टर स्थापना र विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक’

काठमाडौँ । उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूले देशमा उद्यमशीलताको विकासको लागि सरकारले ७ वटै प्रदेशमा बिजनेस इन्कुवेशन सेन्टर स्थापना गर्ने योजना अघि बढाएको बताउनुभएको छ ।

file photo

नेपाल उद्योग वाणिज्य महासङ्घले नेपालमा बिजनेस इन्कुवेशन सेन्टरहरूको स्थापनाका लागि आयोजना गरेको पहिलो सम्मेलनको उद्घाटन गर्दै उद्योग मन्त्री बडूले बिजनेस इन्कुवेशन सेन्टर स्थापना र विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।

बिजनेस इन्कुवेशन सेन्टरहरूको स्थापनाका लागि अघि बढ्न निजी क्षेत्रलाई आग्रह गर्दै मन्त्री बडूले सरकारले नीतिगत रुपमा गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले देशमा उद्यमशीलताको विकास तथा रोजगारीको वृद्धिको लागि इन्कुवेशन सेन्टरहरू महत्त्वपूर्ण औजार बन्न सक्ने बताउनुभयो ।

ती केन्द्रहरूको स्थापना र विकासमा सरकारको सहयोग आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो ।

नेपाललाई सन् २०३० सम्ममा स्टार्टअप नेशनको रुपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो सम्मेलनका क्रममा भएका छलफलहरूबाट प्राप्त सुझावहरूलाई एकीकृत गरी तयार पारेको प्रतिबद्धता सरकारलाई समेत हस्तान्तरण गर्ने योजना रहेको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button