झापामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

भद्रपुर, झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुई जना एउटै हाँगामा र एक जना अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यसरी भुण्डिएको अवस्थामा मृत फेला परेका किशोरीहरूमा कचनकवल– ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् ।
स्थानीयका अनुसार उनीहरू तीनै जना शनिवार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । स्थानीयले खोज्ने क्रममा आज बिहान झुन्डिएको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
तीनै जना किशोरी चिया बगानमा काम गर्ने मजदुर हुन् ।
मृत्युको कारण बारे अहिले नै केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी वसन्त पाठककले बताउनुभयो ।
अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र तीनै जनाको शव पोष्टमार्टका लागि धरान पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्