तपाईँ सुन्दै हुनुहुन्छः

संविधानले प्रदान गरेको अधिकारलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ : अध्यक्ष तिमिल्सिना

रुपन्देही । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना तिमिल्सिनाले नेपाली जनताको त्याग, तपस्या बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनको लागि सबै सचेत नागरिकको भूमिका महत्त्वपूर्ण भएको बताउनुभयो । 

उहाँले सङ्घीयता कार्यान्वयनको लागि नै राष्ट्रियसभाले १५ बुँदे सङ्कल्प प्रस्ताव पारित गरी सरकारलाई बुझाएको बताउनभयो ।  

बुटवलमा आज संघीय शासन प्रणाली सबलीकरण विषयक अन्तरक्रियामा बोल्नुहुँदै उहाँले संविधानले प्रदान गरेको अधिकारहरूलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले राजनीतिक परिवर्तनलाई सही ढंगले अगाडि बढाउनका लागि नेपालको राजनीतिक दलहरूले सोच्दै र आगामी दिनमा राजनीतिक दलहरूले थप समीक्षा गरी अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अहिलेको व्यवस्थामाथि प्रतिगमनकारीहरूबाट चौतर्फी घेराबन्दी हुन थालेकाले त्यस विरुद्धमा सचेत हुनुपर्ने बेला आएको बताउनुभयो । 

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको हत्या कतिपय राजनीतिक दलका नेतृत्वहरूबाट नै हुने खतरा रहेको बताउनुहुँदै त्यस प्रवृत्तिको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रियसभा एउटा देशको जनप्रतिनिधिहरूको सम्मानित संस्था भएकाले गर्दा त्यसको निरन्तरता र आवश्यकता अपरिहार्यता भएको भन्नुहुँदै त्यसका लागि सबै एक हुनुपर्ने बताउनुभयो  । 

  मुख्यमन्त्री केसीले सङ्घीयतालाई बलियो बनाएमा देशको समृद्ध हुने बताउँदै सङ्घीयता विरोधीहरूले गरिरहेको हल्लालाई गलत सावित गरी सङ्घीयतालाई  थप  बलियो बनाउनुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती मगरले संविधानले प्रदान गरेको अधिकारलाई ठिक ठिक ढंगले प्रयोग तथा कार्यान्वयन लिएमा सङ्घीयता कार्यान्वयन हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले नेपालको आमूल परिवर्तनपछि स्थानीय, प्रदेश र संघीय संरचनाबाट जनतालाई सेवा प्रदान गरेको बताउँदै थप सङ्घीयतालाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

नेपालको आमूल परिवर्तनपछि समानुपातिक, समावेशिता, सहभागिता र धर्म निरपेक्षता राज्यले परिकल्पा गरेकोले त्यसका लागि पनि सङ्घीयता आवश्यक रहेको बताउनुभयो । 

राज्यमन्त्री उमेश श्रेष्ठले सङ्घीयताको मर्म, भावनाअनुसार शासन सञ्चालन गरेमा जनताको समृद्धि समेत हुने बताउनुभयो । 

कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेश सरकारका मन्त्रीहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button