सुर्खेतमा प्रतिबन्धित मंगुर माछा जफत

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेत नेतृत्वको बजार अनुगमन टोलीले अवैध रुपमा भित्र्याइएको मंगुर माछा जफत गरेको छ ।
प्रशासन कार्यालयलाई अवैध रूपले भित्र्याइएको प्रतिबन्धित मंगुर माछाको बिक्री वितरण भइरहेको सूचना पाए लगतै बजार अनुगमन टोलीले स्थानीय हटिया लाइन चोक र मंगलगढी चोकबाट २ सय १० किलोग्राम माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

अनुगमन टोलीले हटिया लाइनस्थित बिरु माछा पसलबाट ८० किलो, सञ्जीव माछा पसलबाट ८० किलो र रोशन माछा पसलबाट ५० किलो माछा जफत गरी मङ्गलवार राती नै वीरेन्द्रनगर नगरपालिका अगाडि रहेको कुइनेपानी जङ्गलमा गाडेर नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले बताउनुभयो ।
उहाँले सर्वसाधारणको गुनासो र सूचनाका आधारमा प्रहरीसहितको अनुगमन टोलीले वीरेन्द्रनगर बजारका केही माछा पसलहरूमा खानतलासी गर्दा प्रतिबन्धित मंगुर माछा पाइएले ती माछा जफत गरी नष्ट गरी व्यवसायीलाई फेरी विक्री वितरण गरेको पाइए कानून अनुसार कारबाही हुने चेतावनी दिएर छोडिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पशुपक्षी विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकारहरूको सहभागिता रहेको थियो ।
जिल्लामा अवैध तवरले भारतीय तथा अन्तर प्रदेशबाट प्रतिबन्धित मंगुर माछासँगै ‘फर्मालिन’ प्रयोग गरेका माछाहरू आयातित हुन थालेपछि जिल्ला प्रशासन कार्यालयको रोहवरमा बसेको बजार अनुगमन समितिसँगै सर्वपक्षीय बैठकले गत जेठ १८ गते सुर्खेतमा उक्त माछाको विक्री वितरणमा रोक लगाइएको थियो ।

माछाको वर्गीकरणमा समेत नराखिएको मंगुर माछाले अन्य माछालाई खाइदिने र जैविक विविधतालाई पनि नष्ट गरी जल प्रदूषण हुनुका साथै अत्यधिक मात्रामा हेभिमेटल पाइने भएकाले उक्त माछाको सेवनबाट क्यान्सर, अर्थराटिस, मधुमेह लगायतका घातक रोगहरू निम्तिने विज्ञहरुको भनाइ छ ।









प्रतिक्रिया राख्नुहोस्