बाढीले नाग्म–गमगढी सडक अवरुद्ध

जुम्ला । मुलुकै प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा ताल जाने पर्यटकीय मार्ग नाग्म–गमगढी सडक अवरुद्ध भएको छ ।
गए रातिबाट भएको भारी वर्षातले बाढी आएपछि कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको हो ।
निरन्तर वर्षातले नाग्म–गमगढी खण्डको सिञ्जा गाउँपालिका –२ विष्टवाडास्थित खोलामा बाढी आउँदा सडक अवरुद्ध सिञ्जा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष तिर्थ वडले जानकारी दिनुभयो ।
“ विष्टबाडा खोलामा ठूलो बाढी आएको छ । खोलामा सवारी साधन आवतजावत गर्न सक्ने अवस्था छैन । सवारी साधन खोला वारी र पारी रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । बाढीले खोला कटान हुँदा आवतजावत ठप्प छ । वर्षात नरोकिए सम्म सडक खुल्ने स्थिति छैन”, उहाँले भन्नुभयो । साथै बाढीले सिञ्जा क्षेत्रको मार्सीफाँट समेत डुबानमा परेका छन् ।
यस्तै, सिञ्जा गाउँपालिका–३ नराकोट पालिका भवनस्थित हिमा नदीमाथि निर्माण गरिएको काठे पुलभन्दा माथि पानीको बहाव बढेपछि स्थानीयलाई आवतजावतमा समेत समस्या भएको छ । बाढीले हिमा नदीको बहाव बढेपछि काठे पुल पनि बन्द भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्