भारत लैजान लागिएका १ सय ८२ महिला तथा बालबालिकाको उद्धार
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै भारत लैजान लागिएका १ सय ८२ महिला तथा बालबालिकालाई माइती नेपाल वीरगञ्ज आवधिक गृहले उद्धार गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा वीरगञ्ज नाका प्रयोग गरी भारत लैजान लागिएका १ सय ८२ महिला तथा बालबालिकाको उद्धार गरिएको माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख गोमा पौडेलले बताउनुभयो ।
सो अवधिमा गृहले नेपाल र भारत प्रहरी तथा भारतको मोतीहारीस्थित बाल कल्याण समितिसँगको समन्वयमा भारतबाट ८५ महिला तथा बालबालिकाहरूको समेत उद्धार गरेको छ ।
यसरी उद्धार गरी ल्याइएकामध्ये अधिकांश भारतका विभिन्न गाउँ तथा सहरमा अवैध रूपले सञ्चालित अर्केस्ट्रामा कार्यरत रहेका थिए ।
भारतबाट उद्धार गरिएकामध्ये रक्सौलबाट ३६, मोतीहारी बालिका गृहबाट १३ र बालगृहबाट ४, मुम्बईबाट १२, छौडादानोबाट ११, भेलाहीबाट २, आसाम, बेतिया, जलन्धरबाट १/१ जना रहेको पौडेलले बताउनुभयो ।
त्यसैगरी एक वर्षको अवधिमा वीरगञ्जका आवधिक गृहमा ३ सय ४ महिला तथा बालबालिकालाई संरक्षण दिइएको छ ।
उनीहरू सीमा तथा भारतबाट उद्धार गरी ल्याइएका, प्रहरीले बेवारिसे अवस्थामा फेला पारी संरक्षणका लागि गृहमा ल्याइदिएकाहरू हुन । अन्य निकायबाट बारा र पर्सामा अलपत्र अवस्थामा फेला परेका ३७ महिलालाई गृहमा संरक्षण दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्