अनुभव बाँड्दै नमुना विद्यालय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक वडा एक नमूना विद्यालय कार्यक्रम अन्तर्गत छनोट गरेका सामुदायिक विद्यालयहरू बीच सिकाइ अनुभवहरू आदानप्रदान कार्यक्रम सुरु गरेको छ ।
महानगरले शैक्षिक योजना, वार्षिक कार्य तालिका, एकाइ पाठ योजना, दैनिक पाठ योजना, एकीकृत पाठ्यक्रम, मूल्याङ्कन पद्धति, शिक्षक सुधार योजनालगायतका विषयमा हब बनाएको वडा नं २९ को डिल्लीबजारस्थित विजय स्मारक माविले महानगरभित्र नमुना विद्यालयका रुपमा रहेका अरू ३१ वटा विद्यालयका शिक्षक शिक्षिका बीच आज एक कार्यक्रमको आयोजना गरी अनुभव आदानप्रदान गरेको हो ।
विद्यालयका शिक्षकहरू सुलोना केसी र सुनिता लामाले विद्यालयबाट आधारभूत तहमा भइरहेका शैक्षिक सुधारका क्रियाकलापबारे सहभागी अन्य विद्यालयका शिक्षकलाई अवगत गराउनुभयो ।
कार्यक्रममा विज्ञ प्रस्तोताका रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव बौधराज निरौलाले शैक्षिक उपलब्धि सुधारका उपायहरुबारे प्रशिक्षण दिनुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यालयबीच सिकाइ अनुभव आदानप्रदानबाट शैक्षिक सुधारमा टेवा पुग्नेमा जोड दिनुभयो ।
दुई वर्षअघि सञ्चालित नमूना विद्यालय कार्यक्रमका लागि महानगरपालिकाले प्रत्येक वडाबाट छनोट भएका कुल ३२ सामुदायिक विद्यालयलाई प्रति विद्यालय रु दुई लाखका दरले वार्षिक अनुदान दिने गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्