तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरको न्यायिक इजलास सञ्चालनमा

कास्की । पोखरा महानगरपालिकाको न्यायिक इजलास सञ्चालनमा आएको छ ।

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता भएसँगै स्थगित भएको इजलास नयाँ जनप्रतिनिधि आएसँगै सञ्चालनमा आएको हो । नेपालको संविधानले न्यायिक समितिको संयोजक उपमेयर रहने र दुई जना सदस्य नगर सभाबाट मनोनीत गर्ने व्यवस्था गरेको छ ।

संवैधानिक व्यवस्था अन्तर्गत महानगरको एघारौँ नगर सभाबाट न्यायिक समिति सदस्यमा नगर सदस्यद्वय कालिदास पोखरेल र भावना श्रेष्ठ मनोनीत हुनुभएको थियो ।

२०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनपछि गठन भएको पहिलो न्यायिक समितिको संयोजकमा मञ्जुदेवी गुरुङ र सदस्यद्वयमा पार्वती कार्की र किशोर बराल सदस्य हुनुहुन्थ्यो । गुरुङ दोस्रो पटक उपमेयरमा निर्वाचित हुनुभएको हो भने सदस्यद्वय पोखरेल र श्रेष्ठ नयाँ हुनुहुन्छ ।

महानगरको न्यायिक इजलास हप्तामा दुई दिन सञ्चालन हुँदै आएको छ । इजलास सोमबार र बुधबार बस्ने गरेको छ । नयाँ समितिले साउनको पहिलो सोमबारबाटै इजलास सुरुवात गरेको हो ।

पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले कानूनको परिधिभित्र रहेर न्याय सम्पादन गरिने बताउनुभयो । न्यायिक समितिमा रहँदा आग्रह पूर्वाग्रह नराखी निष्पक्ष रुपमा न्याय सम्पादन गर्नुपर्नेमा उहाँको जोड छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button