कञ्चनरुपका सामुदायिक विद्यालयहरू एक महिना बिदा
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रका सामुदायिक विद्यालय तथा मदरसाहरू आजदेखि एक महिना बिदा दिइएको छ ।
नगरपालिकाको शिक्षा शाखाका शिक्षा अधिकृत प्रेमकुमार चौधरीले सूचना जारी गर्नुहुँदै नगरपालिका भित्रका सामुदायिक विद्यालय तथा मदरसाहरू साउन १ गतेदेखि ३१ गतेसम्म एक महिना बर्खे बिदा दिइएको जानकारी दिनुभयो ।
विद्यालयमा एक शैक्षिक सत्रमा हिउँदे बिदा र वर्षे बिदा दुवै गरी ४५ दिन पठन–पाठन बन्द रहने व्यवस्था भएअनुसार नगरपालिका क्षेत्रका सामुदायिक विद्यालय तथा मदरसाहरूमा शिक्षा शाखाको साउन २८ गतेको निर्णयअनुसार बर्खे बिदा दिइएको शिक्षा अधिकृत चौधरीले बताउनुभयो ।
विद्यालयमा पठनपाठन बन्द हुँदा पनि सबै विद्यालयका प्रधानाध्यापकलाई वर्षे बिदाभरि आवश्यकता अनुरुप विद्यालयमा प्रशासनिक कार्य गर्न गराउन र पुन २०७९ भाद्र १ गतेबाट नियमित रुपमा विद्यालयको पठनपाठन कार्य सञ्चालन हुने गरी बर्खे बिदा दिन शिक्षा अधिकृत चौधरीद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यसैगरी, जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिकाले आजदेखि साउन २६ गते बिहीबारसम्मका लागि बिदा दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश कुमार झाले सूचना जारी गर्नुहुँदै नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरू साउन १ गतेदेखि २६ गते बिहीबारसम्म २६ दिने बर्खे बिदा दिइएको जानकारी दिनुभएको छ ।
वर्षे बिदा र हिउँदे बिदाबाट मिलान हुने गरी यस नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरू बिदा दिइएको अधिकृत झाले बताउनुभयो ।
जारी सूचनामा नगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा प्रशासनिक कार्य बाहेक बाल विकास कक्षा देखि कक्षा १० सम्मको नियमित पठन पाठन कार्य बन्द रहने र पुनः पठनपाठन कार्य पूर्ववत् नै सञ्चालन हुने उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्