थुनुवा बन्दीहरूको निःशुल्क स्वास्थ्य जाँच

रौतहट । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेका थुनवाहरुको आज निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको समन्वय र चन्द्रपुर हस्पिटल प्रालिको सहयोगमा विभिन्न आरोपमा हिरासतमा रहेका १५ जना थुनुवाहरूको स्वास्थ्य जाँच गरिएको हो ।
सामुदायिक प्रहरी साझेदारी अवधारणा अन्तर्गत थुनुवाहरूको स्वास्थ्य जाँच गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको थुनुवा कक्षमा जबरजस्ती करणीमा एक जना, बाल यौन दुरुपयोग दुई जना, ठगी दुई जना, सार्वजनिक शान्ति विरुद्ध पाँच जना चोरी एक जना लागु औषधमा तीन जना रहेका छन् ।
हिरासतमा रहेका थुनुवाहरूको दीर्घकालीन स्वास्थ्य उपचारको लागि कार्ड समेत उपलब्ध गराइएको छ ।
चन्द्रपुर हस्पिटल प्रालिका डा.सुवास चौधरी र डा.कुन्दन चौधरीले उनीहरूको स्वास्थ्य जाँच गर्नुभएको हो । उनीहरूको प्रेसर, सुगर, कान, मुटुको अवस्था लगायतको जाँच गरिएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैयसवारले थुनुवा बन्दीहरूको शारीरिक र मानसिक अवस्था स्वस्थ बनाउन स्वास्थ्य जाँच गरिएको बताउनुभयो ।
प्रत्येक शनिबार थुनुवाहरूको स्वास्थ्य जाँच गर्ने गरी हस्पिटल र ईलाका प्रहरी कार्यालय बीच सहमति भएको छ ।
चन्द्रपुर हस्पिटल प्रालिका डा.सुवास चौधरीले समय समयमा थुनुवा बन्दीहरूको स्वास्थ्य जाँच गर्दा उनीहरूमा निराशा हटेर जाने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्