तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि उल्टो पैदल यात्रा 

विराटनगर । प्रदेश न १ को आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक जना युवाले  विराटनगरदेखि ताप्लेजुङको पाथीभरा माता देवीको मन्दिरसम्मको उल्टो पैदल यात्रा सुरु गर्नुभएको छ  ।

सुनसरी बराहक्षेत्र नगरपालिका–५ घर भएका  ३० वर्षीय ओमप्रकाश बानियाले विराटनगरस्थित बिगहोटलमा आज पत्रकार सम्मेलन गरी पाथीभरा मन्दिरसम्म पुग्नका लागि उल्टो पैदल यात्रा सुरु गर्नुभएको हो ।

विराटनगरदेखि ताप्लेजुङको पाथीभरा मन्दिर सम्मको २ सय ५ किलोमिटर सम्मको उल्टो यात्रा २९ दिनमा पुरा गर्ने उहाँको लक्ष्य छ ।

२०७५ सालमा साइकलबाट ७७ जिल्ला भ्रमण गर्नुभएका बानियाले एक दिनमा १५ किलोमिटर यात्रा गर्दै २९ ठाउँमा विश्राम लिनु हुने जनाइको छ  । 

कतारमा साढे चार वर्ष काम गरेर नेपाल फर्कनुभएका उहाँले विश्व साइकल यात्री पुष्कर साहको प्रेरणाबाट  उल्टो पैदल यात्रा सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । 

आन्तरिक पर्यटन प्रवर्धनका लागि प्रदेश १ को राजधानी विराटनगरबाट यात्रा सुरु गरेको र यो यात्राले नेपालमा नयाँ रेकर्ड कायम हुने उहाँको भनाई छ । 

इच्छा शक्ति भए जे काम पनि गर्न सकिने भन्दै उल्टो पैदल यात्राका लागि आफूले यसअघि १५ दिनसम्म  अभ्याससमेत गरिसकेको उहाँले बताउनुभयो । 

यात्राको सहजताका लागि सुरक्षा स्कटिङका लागि प्रदेश न १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सहयोग गरेको उहाँको भनाई छ ।

समाजसेवी एवं नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईँले उल्टो पैदल यात्रा कार्यक्रमको  शुभारम्भ गर्नुभएको थियो । 

सो अवसरमा यात्रा सुरु गर्नुभएका बानियालाई शुभकामना दिनुहुँदै समाजसेवी प्रसाईँ यस प्रकारको कामले समाजलाई सकारात्मक सन्देश दिने र समाज रूपान्तरका लागि पत्रकारहरूले निष्पक्ष भएर  कलम चलाउनुपर्ने बताउनुभयो ।  

आफु पनि दुर्गा माताको भक्त भएको भन्नुहुँदै समाजसेवी प्रसाईँ पूर्वमा रहेका प्रसिद्ध धार्मिक स्थलको प्रचारप्रसारमा यस्तो अभियानले थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button