तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको पत्थरीको शल्यक्रिया

टीकापुर कैलाली । कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक पित्त थैलीको पत्थरीको शल्यक्रिया भएको छ । 

जनरल सर्जन डा.नवीन चन्द्र भट्ट टीकापुर अस्पतालमा आउनुभएसँगै पहिलो पटक पित्त थैलीको पत्थरीको शल्यक्रिया भएको हो । 

टीकापुरमै पित्त थैलीको पत्थरीको शल्यक्रिया हुन थालेपछि यसपछि त्यस्ता बिरामीले नेपालगंज, काठमाडौँ र छिमेकी देश भारत जानुपर्ने बाध्यता हटेको छ ।

पित्त थैलीको पत्थरीको अप्रेसन चिरफार गरेर वा मेसिनबाट गरी दुई किसिमले गर्न सकिने जनरल सर्जन डा.भट्टले बताउनुभयो । चिरफार गरेर अप्रेसन गरेबापत बिरामीहरूले स्वास्थ्य बीमा नगरेको भए १५ देखि २० हजार रुपैयाँ मात्र तिर्नुपर्ने र मेसिनबाट शल्यक्रिया गरेपछि त्यसमा थप ४/५ हजार बढी खर्च लाग्ने छ । पहिलो शल्यक्रिया चिरफार गरेर गरेको र अब केही दिनमा मेसिन आएपछि मेसिनबाट नै अप्रेसन गरिने डा.भट्टले बताउनुभयो ।

टीकापुर अस्पतालबाट अब हाइड्रोशील, हर्नीया, सिष्ट पलाएको, पत्थरी, पाइल्स, फिसटुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत तथा पानी भरिएको लगायतका समस्याको पनि शल्यक्रिया हुने भएको छ । 

टीकापुर अस्पतालमा अहिले जनरल सर्जन, अर्थो, बालरोग, स्त्री तथा प्रसूति, एनेष्थिएसीया, एमडीजीपी सेवा उपलब्ध रहेको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट बहादुर सोडारीेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button