जानकी मन्दिरको सौन्दर्यीकरणमा अनियमितता भएको महालेखाको ठहर

जनकपुरधाम । मधेश प्रदेश सरकारद्वारा जानकी मन्दिरको सौन्दर्यीकरणमा कमसल मार्बलको प्रयोग भएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ ।
महालेखा परीक्षकले सार्वजनिक गरेको मधेश प्रदेशको चौथो वार्षिक प्रतिवेदनमा जानकी मन्दिर प्राङ्गणमा मापदण्ड विपरीतका गुणस्तरहीन मार्बल प्रयोग गर्ने काम भएको ठहर गरेको छ ।
शुरुमा मन्दिरको प्राङ्गणमा विभिन्न रङ्ग मार्बल बिछ्याउने सम्झौता भएकोमा पुरातत्त्व विभागले सेतो रगंको मार्बल मात्र प्रयोग गर्नका लागि सुझाव दिए अनुसार मुख्यमन्त्रीबाट सैद्धान्तिक सहमतिमा सेतो मार्बल लगाउने सहमति भएको थियो । तर ठेकेदारले त्यसको सट्टा कम मूल्यका रङ्गिन मार्बलहरू प्रयोग गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख रहेको छ ।
रङ्गिन मार्बल ४ हजार र सेतो मार्बल ५ हजार ३ सय रुपैयाँप्रति वर्ग मिटरका दरले खरिद सम्झौता भएको थियो । सुरुको सम्झौतामा सेतो मार्बल १९४५.०८ वर्ग मिटर रहेकोमा तेस्रो बिलसम्म ६ हजार ५७६ वर्ग मिटर देखाएर ३ करोड ४८ लाख ५७ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
तर जानकी मन्दिर परिसरमा अधिकांश गुणस्तरहीन रङ्गिन मार्बल प्रयोग गरिएको ठहर गर्दै सेतोको ठाउँमा प्रयोग भएका रङ्गिन मार्बलको मूल्य घटाउँदा सम्झौताभन्दा ६० लाख २१ हजार रुपैयाँ बढी भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जानकी मन्दिरको सौन्दर्यीकरणमा मापदण्ड विपरीत रङ्गिन मार्बल प्रयोग गरिएको र गुणस्तरहीन मार्बल भएको कारण ठाउँ ठाउँमा चर्किन थालेकाले प्राविधिकबाट मार्बलको रङ्ग यकिन गरी सम्झौता अनुसारको गुणस्तरयुक्त मार्बल प्रयोग गरेर कार्य सम्पन्न गर्न सुझाव महालेखाको प्रतिवेदनमा उल्लेख रहेको छ । झट्ट हेर्दा जानकी मन्दिरमा लगाइएको मार्बल सेतो नै देखिन्छ ।
जानकी मन्दिर सौन्दर्यीकरण अन्तरगत एक वर्षमा मरम्मत सम्भार सम्पन्न गर्ने गरी २०७५ मङ्सिर १७ गते ६ करोड ७५ लाख ४६ हजार रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । तर समयमा काम सम्पन्न हुन नसक्दा २०७८ सालसम्मको म्याद थप गरिएको थियो ।
मार्बल बिछ्याउने कार्यमा मात्रै आ.व. २०७७।०७८ सम्ममा १ करोड ४० लाख ३५ हजार र २ करोड ९० लाख ७९ हजारसहित दुई पटक गरी निर्माण व्यवसायीलाई ४ करोड ३१ लाख १४ हजार रुपैयाँ भुक्तानी गरिसकिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको गौरवको र मुख्यमन्त्री स्वच्छता अभियानको पहिलो कार्यक्रम अन्तर्गत जानकी मन्दिरमा मार्बलको जडान भएपनि ठाउँ ठाउँमा फुट्न थालेको भन्दै जानकी मन्दिरका मूल महन्थ रामतपेश्वर दास वैष्णवले पत्रकार सम्मेलनको आयोजना गरेर विरोध गर्नु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्