जसपामा उपेन्द्र यादवको दुई तिहाइ बहुमत

वीरगंज । वीरगंजमा जारी जनता समाजवादी पार्टी जसपाको केन्द्रिय समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा झण्डै दुई तिहाइ बहुमत पुगेको छ ।
बुधवारदेखि जारी केन्द्रीय समितिको बैठकमा पार्टीमा अहिले कायम रहेका ४८९ केन्द्रीय सदस्यमध्ये ३६७ जना सहभागी भइ हस्ताक्षर समेत गरिसकेको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले जानकारी दिनुभयो ।
यस्तै, पार्टीका २३ जना संघीय सांसदमध्ये १९ जना सहभागी छन् । संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईको पक्षमा भने उनी र महेन्द्र राय गरी दुईजना मात्रै सांसद रहेका छन् । बाँकी दुई सांसद राजकिशोर यादव र अमृता अग्रहरी भने अहिलेसम्म कतै नखुलेको श्रोतले जनाएको छ ।
यस्तै ३२ केन्द्रीय कार्यकारिणी सदस्य मध्ये २३ जना वीरगंजको जारी बैठकमा सहभागी रहेका पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका वन तथा वातावरण मन्त्री प्रदीप यादवले बताउनुभयो । मन्त्री यादव का अनुसार वीरगन्जमा जारी बैठकमा उपेन्द्र यादवको पक्षमा दुई तिहाइ पुगेपछि जसपा नफुट्ने निश्चित भएको र अब डा.बाबुराम भट्टराईले अलगै पार्टी खोल्न सक्ने स्थिति सृजना भएको पार्टीकै नेताहरूले बताएका छन् ।
केन्द्रीय कार्य समिति ४९९ भएपनि अहिले कायम सङ्ख्या ४८९ मात्रै भएको र ती मध्ये पनि ५० जना जति लोसपालगायत अन्य पार्टीमा लागि सकेकाले अब केन्द्रीय सदस्यको सङ्ख्या ४५० को हाराहारीमा मात्रै रहेको वन मन्त्री यादवले बताउनुभयो ।
संघीय परिषद् अध्यक्ष भट्टराईले अब पार्टी फुटाउने नभई आफ्ना गुटका दुई चार जनालाई लिएर मात्रै अन्यत्र जान सक्ने अवस्थामा रहेको मन्त्री यादवले दाबी गर्नुभयो । वीरगंजमा बुधवारदेखि केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्रले बोलाएको बैठकको उद्घाटन सत्रमा पनि बोल्ने नेताहरूले संघीय परिषद् अध्यक्ष भट्टराईले विधान विपरीत काठमाडौँमा बैठक बोलाएकोले त्यो बैठकको कुनै तुक नभएको बताएका थिए । जसपाका वरिष्ठ नेता अशोक राईसहित केन्द्रीय कार्यकारिणी सदस्यहरुले विधान विपरीत बैठक बोलाएर पार्टीमा भाँडभैलो मच्चाउन खोज्ने भट्टराईसहित उहाँको बैठकमा सहभागीलाई अनुशासनको कारबाही गर्न अध्यक्ष उपेन्द्रसँग आग्रह गर्नु भएको छ ।
अहिले पनि बैठकमा पार्टीले उठाएका १० वटा एजेण्डा माथि छलफल भइरहेको र आज राति सम्म बैठक चल्ने जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्