तनहुँ–११ ले उचाल्यो भानु कप फुटबल प्रतियोगिताको उपाधि

तनहुँ । तनहुँको भानु नगरपालिका–१ स्थित भन्सारमा भन्सार युवा परिवारको आयोजनामा भएको १५औँ राष्ट्रिय खुल्ला नकआउट भानु कप फुटबल प्रतियोगिताको उपाधि तनहुँ–११ ले जितेको छ ।
बुधवार भएको फाइनल खेलमा तनहुँ–११ ले २–० गोलअन्तरले शिद्ध गुफा युवा क्लब बन्दिपुर–४ बिमलनगरलाई पराजित गर्दै भानु कपको उपाधि उचालेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले रु २ लाख रुपैयाँ सँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको छ भने द्वितीय हुने समूहले १ लाख रुपैयाँ, मेडल, ट्रफी र प्रमाण–पत्र पाएको छ ।
त्यस्तै सेमिफाइनल खेल्ने दुई टिम सामाना युवा क्लब तुरतुरे र मर्स्याङ्दी युवा क्लब पालुङ्टार गोरखाले नगद रु २०/२० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै फाइनल खेलमा शिद्ध गुफा युवा क्लबका खेलाडी सन्दिप थापा म्यान अफ द म्याच घोषित भएका छन् । सर्वाधिक गोलकर्ता तनहुँ– ११ का जर्सी न. ११ का दिपेश आले घोषित भएका छन् । उनले खेल अवधिभर ९ गोल गरेका छन् ।
यस्तै उत्कृष्ट गोलरक्षक तनहुँ–११ कै प्रदीप भण्डारी घोषित भए भने उत्कृष्ट खेलाडी तनहुँ–११ कै रन्दिप भण्डारी घोषित भएका छन् । अनुशासित टिमको उपाधि मर्स्याङ्दी युवा क्लबले पाएको छ ।
त्यस्तै बुधवार भानु जयन्तीको अवसरमा भएको छेलो प्रतियोगितामा रामकुमार श्रेष्ठ विजयी भएका छन् । उनले नगद रु ५ हजारका साथै प्रमाणपत्र प्राप्त गरेका छन् । बाघचाल तर्फ शङ्कर न्यौपाने विजयी भए, उनले नगद रु ६ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उक्त प्रतियोगिता असार २० गतेदेखि बुधवार असार २९ गतेसम्म सञ्चालन भएको थियो । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको अवसरमा भानुकप फुटबल प्रतियोगिता आयोजना भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक विपिन श्रेष्ठले बताउनुभयो ।
वि.स. २०५९ सालमा स्थापित उक्त युवा क्लबले हरेक वर्ष भानु जयन्तीको अवसरमा युवालाई लक्षित गर्दै फुटबल, छेलो, बुद्धिचाल लगायतका विभिन्न खेलहरू सञ्चालन गर्दे आइरहेको छ ।
गत २ वर्ष भने कोरोना महामारीले गर्दा स्थगित भएको क्लबका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो ।
बुधवार भएको फाइनलमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, भानु नगर प्रमुख आनन्द राज त्रिपाठी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्