तपाईँ सुन्दै हुनुहुन्छः

सिङ्गो न्याय प्रणालीमा सुधारको खाँचो छ: कानूनमन्त्री कोइराला

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले मुलुकको न्याय प्रणालीमै सुधार गर्नुपर्ने खाँचो रहेको औँल्याउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कोइरालाले सिङ्गो न्याय प्रणालीकै सुधार गर्नुपर्ने अवस्था रहेको र यौन हिंसा विरुद्धको कानूनलाई पनि समयानुकूल बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

बैठकमा सांसदहरुले उक्त विधेयकमा हदम्याद किन राखिएको भनी प्रश्न खडा गर्नुभएको थियो । त्यसको जवाफमा कानूनमन्त्री कोइरालाले यौन हिंसासम्बन्धी अपराधको गम्भीरतालाई हेरेर अध्यादेशलाई प्रतिस्थापन विधेयकका रूपमा निरन्तरताका लागि मात्रै विधेयक आएको जानकारी दिनुभयो । बाध्यात्मक अवस्थाले आएको विधेयकलाई एउटा सामाजिक घटनाबाट उत्पन्न परिस्थितिका कारणले संशोधन प्रस्ताव आएको उहाँले बताउनुभयो ।

अदालतमा हुने बेथितिहरूको अन्त्य गर्न र फौजदारी अपराधको विषयमा समयानुकूल परिवर्तन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । सदनमा सांसदहरुले उठाएका कुरामा सरकार गम्भीर रहेको उहाँको भनाइ थियो ।

छलफलमा भाग लिँदै सांसदहरू विमला विक, बिन्दा पाण्डे, मनकुमारी जिसी तथा विद्या भट्टराईले हदम्याद राख्न नहुनेमा जोड दिनुभएको थियो ।

छलफलमा पुष्पा भुसाल गौतम, डिला सङ्ग्रौला, पार्वतीकुमारी विशुन्खे, राजेन्द्रकुमार केसी, रङ्गमती शाही छक्कबहादुर राना, प्रेम सुवाल लगायतले धारणा राख्नुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button