तपाईँ सुन्दै हुनुहुन्छः

चार जना सञ्चारकर्मी पुरस्कृत

मोरङ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील चार जना सञ्चारकर्मीलाई सञ्चारकर्मी सञ्चार सहकारीले विराटनगरमा पुरस्कृत एवं सम्मान गरेको छ ।

सहकारी संस्था लिमिटेडका विराटनगरको ११ औँ स्थापना दिवसको अवसरमा तोरेन्द्र– इन्दिरा प्रधान प्रेस सम्मानबाट वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, ओमप्रकाश आर्थिक पत्रकारिताबाट मोहन मानन्धर, मेम्बर चन्द्रलाल– दुर्गादेवी सञ्चार श्रमजीवी पुरस्कारबाट बाबुराम भण्डारी र मिना श्रेष्ठ(रासस) तथा श्रमजीवी महिला पत्रकारिता पुरस्कारबाट उषा सरदारलाई पुरस्कृत गरिएको हो ।

वरिष्ठ पत्रकार दाहाललाई नगद रु ५० हजार, आर्थिक पत्रकारिताबाट मानन्धरलाई रु ५० हजार, सञ्चार श्रमजीवी पत्रकारबाट भण्डारीलाई रु २१ हजार र श्रमजीवी महिला पत्रकारिताबाट सरदारलाई रु १० हजार एवं सम्मानपत्र प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष मोहन भण्डारीले बताउनुभयो ।

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङ्गले उहाँहरूलाई सम्मान एवं पुरस्कृत गर्नुभएको हो । त्यस अवसरमा उहाँले मुलुक र समाजलाई अगाडि बढाउन पत्रकारको ठूलो भूमिका रहने भएकाले मुलुकको आर्थिक संवृद्धिका लागि पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सञ्चारकर्मीहरूले विकास निर्माण कार्यमा आवश्यक निगरानी गरी पारदर्शिता कामय गर्न भूमिका खेल्नुपर्ने बताउनुभयो ।

पुरस्कृत वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पुरस्कार प्रदानबाट नयाँ पुस्तालाई पत्रकारिता क्षेत्रमा क्रियाशील गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button