यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पारित
काठमाडौँ । प्रतिनिधिसभाबाट यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पारित भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रस्तुत गर्नुभएको कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

विधेयकमाथि सांसदहरू चित्रलेखा यादव, डा. डिला सङ्ग्रौला, डा. बिन्दा पाण्डे, गोमा देवकोटा, सत्या पहाडी, अन्जनाकुमारी विशुंखे, झपटबहादुर रावल, प्रेम सुवाल, रंगमती शाही लगायतले दण्ड सजाँय र हदम्यादको समय बढाएर मात्रै यौनजन्य हिंसाका घटना कम नहुने हुँदा यौनजन्य हिंसाका घटनामा हदम्याद हटाउनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा उठेका प्रश्नको जवाफमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले यौन हिंसासम्बन्धी कानुनमा सुधार आवश्यक रहेको बताउनुभयो ।
उहाँले सरकार न्याय इन्कार गर्ने सवालमा नभएको पनि स्पष्ट पार्नुभयो ।
आजै प्रतिनिधि सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री मोहम्मद इस्तियाक राईले पेश गर्नुभएको नेपाल रेल्वे विधेयक २०७९ माथि छलफल भएको छ ।
बैठकमा गणपुरक सङ्ख्या नपुगेका कारण रेल्वे विधेयक पारित भने हुन सकेन ।
प्रतिनिधिसभाको अर्को बैठक असार २९ गते बुधवार ११ बजे बस्नेछ ।







प्रतिक्रिया राख्नुहोस्