नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन विधेयक, २०७९ सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले शून्य समयमा सांसदहरुले उठाउनुभएको विषयमा सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउन रुलिङ गर्नुभएको छ ।
बैठकमा सांसदहरुले विदेशी मुद्रा सञ्चिति घटिरहेको तथा देशमा महँगी बढिरहेको अवस्थामा नेपाल प्रहरीलाई हतियार किन्न अनुमति दिन नहुने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सांसद कृष्णभक्त पोखरेलले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७९ पेश गर्नुभयो ।
बैठकले गृहमन्त्री बालकृष्ण खाणले पेश गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक, २०७९ पारित गरेको छ ।
बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री खाणले राज्यले तोकेका तथा संविधानले मार्गनिर्देश गरे अनुसार नै प्रदेश प्रहरी र नेपाल प्रहरीलाई जिम्मेवारी प्रदान गरिएको बताउनुभयो ।
मन्त्री खाणले विधेयकले प्रदेश प्रहरीलाई कमजोर पार्न खोजेको नभई केन्द्रमा भएको सुरक्षा चुनौतीलाई सामना गर्नका लागि नेपाल प्रहरीलाई जिम्मेवारी दिइएको बताउनुभयो ।
मन्त्री खाणले प्रदेश प्रहरीले जनताप्रति उत्तरदायी हुँदै आफ्नो प्रदेशमा शान्ति सुरक्षामा र नेपाल प्रहरीले देशको शान्ति सुरक्षाप्रति ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले काठमाडौँ, भक्तपुर र ललितपुरको शान्ति सुरक्षामा नेपाल प्रहरी र प्रदेश प्रहरीबीच समन्वय गरेर नै अगाडि बढ्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्