प्रधानमन्त्री देउवाद्वारा इद उल पर्वको शुभकामना

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देशमार्फत यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिनुभएको छ । बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्ता चाडपर्वहरूले सबै समुदायबीच आपसी सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास लिनुभएको छ । नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिको साझा फूलबारीको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यहीँ विविधताबीचको एकता नै हाम्रो राष्ट्रिय पहिचान भएको बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्